इरानी नागरिकलाई अनअराइभल भिसा रोक : संख्या १३ पुग्यो

काठमाडौं । नेपालले इरानी नागरिकलाई ‘अन अराइभल’ (आगमनका समयमा) भिसा दिन रोक लगाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार यससम्बन्धी निर्णय गरेका हुन्।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार यो निर्णयसँगै सरकारी र कूटनीतिक राहदानी बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट मात्र भिसा लिनुपर्नेछ। उनीहरूले नेपाल आइपुगेपछि विमानस्थलमा भिसा पाउने सुविधा भने खारेज गरिएको हो।
योसँगै नेपालमा ‘अन अराइभल’ भिसा नपाउने मुलुकको संख्या १३ पुगेको छ। यसअघि नै नाइजेरिया, घाना, जिम्बाबे, स्विजरल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले नेपाल आउँदा आगमनका समयमा भिसा पाउँदैन थिए।
शरणार्थी स्ट्याटसका यात्रा अनुमति प्राप्त कागजात भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र आउनुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
यो निर्णयले नेपालको अध्यागमन नीतिमा थप कडाइ गरिएको संकेत गरेको छ। सुरक्षा र अन्य विभिन्न पक्षलाई ध्यानमा राख्दै सरकारले यस्तो कदम चालेको बुझिएको छ।





