न्यायाधीशको ‘चटक’ : राजीनामा दिएर हिँडेका भट्टराई सर्वोच्च पुग्न लबिङमा

काठमाडौं : न्याय दिने पवित्र थलोमा पछिल्लो समय विवादास्पद ‘चटक’ देखिन थालेको छ। आफैं राजीनामा दिएर हिँडेका एक जिल्ला न्यायाधीशले सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि लबिङ गरिरहेको चर्को चर्चा सुनुवाइ समितिदेखि न्याय परिषदसम्म चल्न थालेको छ।

अर्घाखाँची र कास्कीको १ नम्बरमा रहेर काम गरेका न्यायाधीश श्रीकृष्ण भट्टराई प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइमा बाधा पुर्याउन उद्यत भएपछि विवादमा तानिएका थिए। उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पालामा कास्की जिल्ला अदालतमा नेतृत्वदायी भूमिका पाए पनि उनको कार्यकाल भने विवादमुक्त रहन सकेन। कास्कीमा बस्न लबिङ गरे पनि अर्घाखाँची सरुवा भएपछि उनले प्रधानन्यायाधीश बन्न लागेका हरिकृष्ण कार्कीविरुद्ध २६ पृष्ठ लामो उजुरी दर्ता गराएका थिए।

स्रोतका अनुसार, कार्की प्रधानन्यायाधीशमा नियुक्त भएपछि कारबाहीको डरले राजीनामा दिएर अमेरिका भागेका भट्टराई अहिले फर्किएर सर्वोच्च अदालतको न्यायाधीश बन्न जोडतोडका साथ लबिङ गरिरहेका छन्। “पहिले आफैं राजीनामा दिएर हिँडे, अहिले सर्वोच्चको न्यायाधीश बनाइदिनुपर्यो भनेर चारैतिर लबिङ गरिरहेका छन्। आफूलाई नियुक्त नगरे ‘देखाइदिने’ धम्की समेत दिने गरेको स्रोतले जनाएको छ।

व्यक्तिगत जीवनमा समेत विवादित रहेका भट्टराईका दुई श्रीमती छन्। उनले जेठी श्रीमतीलाई अंश नदिई हेला गरेको र अमेरिकाको पिआरधारी कान्छी श्रीमतीलाई भने उतै राखेको आरोप छ। यसअघि उनीमाथि किर्तेको आरोप पनि लागेको थियो। राजीनामापछि नैतिकताको बहाना बनाएर हिँडेका उनी अहिले आफैं न्यायाधीश बन्न लबिङ गर्नुले न्यायालयको गरिमामाथि नै प्रश्न चिन्ह लागेको न्यायविदहरू बताउँछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button