१८ बैशाख २०८३, शुक्रबार

‘अमेरिका र इरानलाई वार्ताको टेबुलमा फर्काउनु शीर्ष प्राथमिकता हो’ : इटालियन समकक्षीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीको जोड

बेइजिङ, चीन — चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिका र इरानलाई वार्ताको टेबुलमा फर्काउनु र राजनीतिक समाधान खोज्नु नै वर्तमान अवस्थाको शीर्ष प्राथमिकता रहेको बताएका छन्। इटालीका उपप्रधानमन्त्री एवं विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री एन्टोनियो तायानीसँग बेइजिङमा भएको भेटका क्रममा उनले यो धारणा राखेका हुन्। दुई विदेशमन्त्रीबीच मध्यपूर्वको पछिल्लो परिस्थितिबारे विचार आदानप्रदान भएको थियो।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्ध हुनै नहुने बताउँदै यसको लम्बिँदो स्वरूपले अन्तर्राष्ट्रिय ऊर्जा सुरक्षा र होर्मुज जलसन्धिमा हुने नौसैनिक आवागमनको सुरक्षामा गम्भीर असर पारिसकेको बताए।

विदेशमन्त्री वाङले भने, ‘चीनले सधैं अन्तर्राष्ट्रिय विवादहरूको संवाद र परामर्शमार्फत राजनीतिक समाधानको वकालत गर्दै आएको छ र बल प्रयोगको विरोध गर्दछ।’ उनले चीनले निरन्तर वस्तुनिष्ठ र निष्पक्ष अडान कायम राखेको र शान्ति स्थापना तथा द्वन्द्व अन्त्यका लागि सक्रिय रूपमा काम गरिरहेको बताए। साथै, चीनले पाकिस्तानको मध्यस्थता प्रयासलाई समर्थन गर्ने र यस सन्दर्भमा सबै पक्षसँग नियमित सम्पर्क र सञ्चार कायम राख्दै रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ थियो।

द्विपक्षीय सम्बन्धका सन्दर्भमा वाङ यीले चीन इटालीसँग मिलेर दुई देशका नेताहरूबीच भएका महत्त्वपूर्ण सहमति कार्यान्वयन गर्न र द्विपक्षीय सम्बन्धको विकासको स्वस्थ एवं स्थिर गति कायम राख्न इच्छुक रहेको बताए। उनले यस वर्षको सुरुदेखि नै भू-राजनीतिक द्वन्द्वहरू लम्बिँदै गएको, विभिन्न सङ्कटग्रस्त मुद्दाहरू झन् पेचिलो बन्दै गएको र अन्तर्राष्ट्रिय व्यवस्था तथा विश्व सुरक्षाले गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गरे।

विदेशमन्त्री वाङले चीन र इटाली दुवै पुरातन सभ्यता भएको र शान्तिलाई महत्त्व दिने राष्ट्र भएको बताउँदै बहुपक्षीयताको रक्षा गर्ने महत्त्वपूर्ण शक्तिका रूपमा रहेको धारणा राखे। उनले अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मामिलामा इटालीसँग सञ्चार र समन्वयलाई थप सुदृढ गर्न चीन तयार रहेको बताए।

प्रतिक्रियामा इटालियन विदेशमन्त्री तायानीले इटालीले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिने र एक-चीन नीतिमा दृढतापूर्वक प्रतिबद्ध रहेको बताए। उनले इटालीले अन्तर्राष्ट्रिय मामिला र संयुक्त राष्ट्रसङ्घ जस्ता बहुपक्षीय निकायहरूमा चीनको महत्त्वपूर्ण प्रभावको कदर गर्ने बताउँदै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्कटग्रस्त मुद्दाहरूको समाधानका लागि चिनियाँ राष्ट्रप्रमुखले अघि सारेका धारणा र पहलहरूलाई इटालीले समर्थन गर्ने बताए। इटाली विश्व शान्ति, स्थिरता र विकासको सामूहिक रक्षाका लागि चीनसँग बहुपक्षीय सञ्चार र समन्वयलाई सुदृढ गर्न इच्छुक रहेको पनि उनले उल्लेख गरे।

भेटका क्रममा दुवै पक्षले युक्रेन सङ्कट लगायत अन्य विषयमा पनि विचार आदानप्रदान गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button