जापानको कासिवाजाकी-कारिवा आणविक केन्द्रको ६ नम्बर रियाक्टर १४ वर्षपछि व्यावसायिक सञ्चालनमा, टोकियो क्षेत्रमा विद्युत् आपूर्ति सुरु

टोकियो, जापान — वैशाख ४। टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले हालै पुनः सञ्चालनमा ल्याइएको कासिवाजाकी-कारिवा आणविक ऊर्जा केन्द्रको एक रियाक्टरलाई १४ वर्षपछि व्यावसायिक रूपमा सञ्चालन सुरु गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। जापानको आणविक नियमन प्राधिकरणले बिहीबार निगाता प्रिफेक्चरस्थित कासिवाजाकी-कारिवा केन्द्रको ६ नम्बर रियाक्टरको अन्तिम निरीक्षण गरेपछि अपराह्न व्यावसायिक सञ्चालनको अनुमति प्रदान गरेको सार्वजनिक प्रसारण सेवा एनएचकेले जनाएको छ।
प्रारम्भिक तालिकाभन्दा झन्डै दुई महिना ढिलो भए पनि यो टेप्कोद्वारा सञ्चालित आणविक रियाक्टरले वृहत् टोकियो क्षेत्र र सिजुओका प्रिफेक्चरको पूर्वी भाग समेट्ने ग्रिड प्रणालीमा व्यावसायिक रूपमा विद्युत् पठाएको १४ वर्षयताकै पहिलो घटना हो। यो रियाक्टर जनवरीमा पुनः सक्रिय गरिएपछि फेब्रुअरीको अन्त्यतिर व्यावसायिक सञ्चालनमा आउने तालिका रहेकोमा अलार्म प्रणालीमा खराबी लगायतका कारण टेप्कोले पुनः सञ्चालनको मिति दुई पटकसम्म सार्न बाध्य भएको थियो।
टोकियोबाट करिब २२० किलोमिटर उत्तरपश्चिममा अवस्थित कासिवाजाकी-कारिवा केन्द्र सम्भावित क्षमताका आधारमा विश्वकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र हो। सन् २०११ मार्चमा सुनामीबाट क्षतिग्रस्त टेप्कोकै फुकुसिमा दाइची केन्द्रमा रियाक्टर भित्री भाग पग्लिने दुर्घटनापछि जापानले आणविक ऊर्जा बन्द गरेसँगै यो केन्द्र पनि बन्द भएको थियो।
कम्पनीले सात इकाइ रहेको उक्त परिसरको ६ नम्बर रियाक्टरलाई जनवरी २१ मा करिब १४ वर्षपछि पहिलो पटक पुनः सञ्चालनमा ल्याएको थियो। फुकुसिमा आणविक दुर्घटनापछि टेप्कोद्वारा सञ्चालित कुनै पनि रियाक्टर पुनः सञ्चालनमा आएको यो पहिलो घटना हो। यद्यपि, उक्त केन्द्र सक्रिय भूकम्पीय भ्रंश क्षेत्रमा रहेको भन्दै स्थानीय स्तरबाट यसको विरोध भइरहेको छ।





