एमालेभित्र ‘सत्य बोल्नेलाई सजाय’ नीति: पाण्डेको जवाफी प्रहार

काठमाडौं। नेकपा (एमाले) मा चुनावी पराजयपछि आन्तरिक विवाद चर्किएको छ। पूर्वउपसभापति तथा सल्लाहकार समिति सदस्य सुरेन्द्र पाण्डेले महासचिव शंकर पोखरेलको अभिव्यक्तिविरुद्ध प्रश्न उठाउँदै पार्टी नेतृत्वले “सत्य बोल्ने कार्यकर्तालाई कारबाही” गर्न खोजेको भन्दै तीव्र आक्रोश पोखेका छन्।

पाण्डेले जनताले मतपत्रबाटै एमालेलाई अस्वीकार गरिसकेको अवस्थामा पनि नेतृत्वले योगेश भट्टराई जस्ता नेतालाई कारबाही गर्ने धाक थोपर्नु ‘नैतिक पतन’ भएको टिप्पणी गरेका छन्। उनले भनेका छन्, “४०–५० हजार मतको अन्तरलाई ‘षड्यन्त्र’ भनेर हिँड्नु जनताको विवेकको अपमान हो। कसैले फसायो भन्दैमा यत्रो अन्तर कसरी पुरिन्छ?”

पार्टीका वरिष्ठ नेता समेत रहेका पाण्डेले एमालेले अब आफ्नो कार्यशैली र पद्धति पूर्ण रूपमा ‘रिसेट’ नगरे पार्टी र देश दुवैलाई धक्का पुग्ने चेतावनी दिएका छन्। उनले ‘अरू असफल भएपछि हामी आउँला’ भन्ने मानसिकता त्याग्न नसके पार्टीको भविष्य अन्धकार रहेको बताएका छन्।

यसरी एक वरिष्ठ नेताले नै पार्टीको आन्तरिक लोकतन्त्रमाथि नै प्रश्न उठाएपछि एमालेमा यो बहसले झन तीव्रता पाउने देखिएको छ। पाण्डेको यो अभिव्यक्तिले पार्टीभित्र लामो समयदेखि रहेको असन्तुष्टिलाई उजागर गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button