चीनद्वारा होर्मुज जलसन्धि प्रस्तावमा भिटो प्रयोगको व्याख्या
'परिस्थिति चर्कनबाट जोगाउन र शान्तिका लागि गरिएको जिम्मेवार छनौट'

काठमाडौं — वैशाख ४। संयुक्त राष्ट्र सङ्घका लागि चिनियाँ स्थायी प्रतिनिधि फु छुङले अप्रिल १६ तारिखका दिन सुरक्षा परिषद्को भिटो अधिकारको प्रयोगसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासभाको बैठकलाई सम्बोधन गर्दै चीनले अप्रिल ७ मा होर्मुज जलसन्धिसम्बन्धी मस्यौदा प्रस्तावमा भिटो लगाएको निर्णयको विस्तृत व्याख्या गर्नुभयो। उहाँले उक्त भिटो प्रयोगले परिस्थितिलाई थप चर्कनबाट जोगाएको र अस्थायी युद्धविराम तथा वार्ता पुनः सुरु गर्नका लागि अनुकूल वातावरण निर्माण गरेको दाबी गर्नुभयो।
राजदूत फु छुङले भन्नुभयो, “चीनले मतदान गरेको यो मत शान्ति र जनताप्रतिको दायित्वबाट निर्देशित छनौट हो। चीन इतिहासको सही पक्षमा उभिएको छ।” उहाँले चीनले सम्बन्धित पक्षहरूद्वारा घोषणा गरिएको युद्धविराम निर्णयको स्वागत गर्दै युद्धविराम र द्वन्द्व रोक्नका लागि भइरहेका सबै प्रयासहरूलाई समर्थन गर्ने कुरामा विशेष जोड दिनुभयो।
चिनियाँ स्थायी प्रतिनिधिका अनुसार अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता तनावपूर्ण परिस्थितिलाई शिथिल पार्ने दिशामा चालिएको एक सकारात्मक कदम हो। उहाँले अन्तर्राष्ट्रिय समुदायले शान्ति र संवादको पक्षमा उभिनेहरूको प्रयासलाई निरन्तर रूपमा सघाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
फु छुङले थप भन्नुभयो, “मध्यपूर्व क्षेत्रका मुलुकहरूको साँचो मित्र र रणनीतिक साझेदारको रूपमा चीनले सधैं क्षेत्रीय परिस्थितिमाथि नजिकबाट ध्यान दिँदै आएको छ। हामी न्यायपूर्ण अडानको पालना गर्दै विभिन्न पक्षहरूसँग मध्यस्थताको प्रयास गर्न र शान्ति तथा संवादलाई प्रवर्द्धन गर्न निरन्तर प्रयासरत छौं।”





