खजुराको रात्रिकालीन फुटबल महोत्सव
उद्घाटनमा १७ टोलीको सहभागिता, पहिलो दिन वाकओभर सहित रोमाञ्चक खेल

खजुरा । खजुरामा स्थानीय फुटबल प्रेमीहरूको उत्साह र ठूलो संख्यामा दर्शकहरूको उपस्थितिबीच प्रथम खजुरा ब्रदर्स ५-ए साइड रात्रीकालीन प्रतियोगिता २०८२ को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। यस प्रतियोगितामा जम्मा १७ वटा टोलीहरूको सहभागिता रहेको छ।


प्रतियोगिताको उद्घाटन समारोह क्लबका अध्यक्ष विवेक सागर पाैडेल तथा प्रमुख अतिथि टेक बहादुर रोकाया ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको पनि गरिमामय उपस्थिति रहेको थियो। जसमा न्यु डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्री, पत्रकार खगेन्द्र दाहाल, अलिसा ज्वेलर्सका हरि प्रकाश वि.क., क्लबका उपाध्यक्ष जीवन गुरुङ, सल्लाहकारद्वय बम बहादुर शाही र शरद कुमार नेपाल, कोषाध्यक्ष राकेश पौडेल तथा सचिव आशिष गुरुङ लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भए पनि प्राविधिक कारणवश खेलहरू निर्धारित समय बेलुका ६ बजेको सट्टा ७ बजेबाट मात्र सुरु गर्नुपरेको थियो। साथै, अन्य धेरै टोलीहरूले यस प्रतियोगितामा सहभागिताका लागि निकै उत्सुकता देखाए तापनि ढिलो दर्ताका कारण उनीहरूलाई समावेश गर्न नसकिएको आयोजकले जनाएको छ। यसका लागि आयोजकले सम्पूर्ण टोली तथा फुटबलप्रेमी दर्शकहरूसँग क्षमा समेत मागेको छ।

पहिलो दिनको खेल परिणाम :
प्रतियोगिताको पहिलो दिन तीनवटा खेल सम्पन्न भएका थिए।

· पहिलो खेल (उद्घाटन खेल) : उद्घाटन खेलमा चिरपरिचित न्यु डाँफे स्पोर्ट्स क्लब “D” गाउँ र न्यु दर्पण युवा स्पोर्ट्स क्लब “E” गाउँ बीच प्रतिस्पर्धा भएको थियो। दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि निर्धारित समयभित्र न्यु डाँफेले ३ गोल गर्दा न्यु दर्पण युवा स्पोर्ट्स क्लबले ४ गोल गरी रोमाञ्चक जित हात पारेको छ।
· दोस्रो खेल : दोस्रो खेल ब्रदर्स एफसी लेजेन्ड र सहारा एफसी (A) बीच भएको थियो। यस खेलमा पनि गोलको वर्षा नै भयो। ब्रदर्स लेजेन्डले ४ गोल गरेकोमा सहारा एफसी (A) ले ३ गोल मात्र फर्काउन सक्यो, जसका कारण ब्रदर्स एफसी लेजेन्डले जित आफ्नो नाममा गरायो।

· तेस्रो खेल : तेस्रो खेल ब्रदर्स एफसी र समशेरगन्ज एफसी बीच हुने तय भएको थियो। तर समशेरगन्ज एफसी मैदानमा उपस्थित नभएपछि खेलको नियमअनुसार ब्रदर्स एफसीले ‘वाकओभर’ पाउँदै स्वतः जित हासिल गर्यो।
स्थानीय फुटबल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस रात्रीकालीन प्रतियोगितामा दर्शकहरूको उत्साहजनक सहभागिता रहेको छ। आगामी दिनमा पनि थप रोमाञ्चक खेलहरू हुने आयोजकले जनाएको छ।






