प्रधानमन्त्री कार्यालयमा कडा सुरक्षा
आफ्नै कर्मचारीलाई प्रवेश गर्नै हम्मे, बाहिरका त झन टाढा

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले सत्ता सम्हालेको तीन साता पुगेको छ। तर यस छोटो अवधिमै प्रधानमन्त्री कार्यालय सिंहदरबारको मुख्य गेट ‘किल्ला’ जस्तो बनेको छ। कार्यालयभित्रै काम गर्ने कर्मचारीहरू पनि आफ्नै कार्यालय छिर्न सकस महसुस गरिरहेका छन्। बाहिरका अन्य मन्त्रालयका कर्मचारी, सर्वसाधारण र जनप्रतिनिधि त झन बिरलै मात्र भित्र पस्न पाउने गरेको स्रोत बताउँछ।
‘सम्बन्धित महाशाखाका सम्बन्धित कर्मचारीको अनुमति विना प्रधानमन्त्री कार्यालयका सुरक्षाकर्मीले कसैलाई पनि छिर्न दिँदैनन्,’ कार्यालय स्रोतले भन्यो, ‘पहिले सरकारी आइडी होल्डर मात्रै प्रधानमन्त्री कार्यालयमा छिर्न पाउँथे। सर्वसाधारणलाई पहिले नै स्वीकृति लिनुपर्थ्यो। तर अहिले सबैलाई कडा बनाइएको छ।’
प्रधानमन्त्री कार्यालयका विभिन्न महाशाखामा हुने बैठकमा भाग लिन जाने अन्य मन्त्रालय तथा कार्यालयका सचिव, सहसचिवहरूसँगै सुरक्षाकर्मी पनि पछि लाग्ने गरेको बताइन्छ। ‘कसको बैठक हो, त्यहाँ जान लागेका सचिव र सहसचिवलाई मात्र जान दिइन्छ। तर त्योभन्दा तल्ला तहका कर्मचारीलाई सम्बन्धित कर्मचारीको कोठासम्म पुर्याएर छाड्न सुरक्षाकर्मी सँगै जान्छन्,’ स्रोतले थप्यो।
कतिपय छलफलमा उपसचिवहरू समेत सहभागी हुनुपर्ने हुन्छ। तर प्रधानमन्त्री कार्यालयमा गरिएको कडाइले अन्य मन्त्रालयसँग समन्वय गर्न गाह्रो भएको गुनासो सरकारी कर्मचारीहरूबीच व्याप्त छ। तर प्रधानमन्त्री कार्यालयमा सहज आगमनबारे त्यहाँका अधिकारीहरू भने सकारात्मक देखिएका छैनन्। सचिवहरू भन्छन्, ‘यस्तो कडाइबाट अवस्था र परिणाम राम्रो भयो भने त ठीकै होला। अन्यथा कर्मचारीहरूले नै आतंक महसुस गर्नेछन्। कसलाई भेट्न को आएको भन्ने रेकर्ड सुरक्षाबाहेक अन्य उद्देश्यले व्याख्या गरिएको अवस्थामा स्वयं कर्मचारीले नै काम गर्ने वातावरणमा ह्रास आउन सक्छ। यसतर्फ ध्यान दिए राम्रो हुन्थ्यो।’ प्रधानमन्त्री कार्यालयको नयाँ सुरक्षा व्यवस्थाले प्रशासनिक तहमा तनाव थपेको छ। अब आगामी दिनमा यो अवस्था कायम रहन्छ वा सहजीकरण हुन्छ भन्ने हेर्न बाँकी छ।





