९ बैशाख २०८३, बुधबार

राजधानी प्रदेश कमिटीले पार्टी पुनर्गठनको माग गर्यो, युवाको आवाज सुन्न सुझाव

काठमाडौं। फागुन २१ को निर्वाचनमा अकल्पनीय परिणाम व्यहोरेको नेकपा एमालेको शीर्ष तहमा नेतृत्व परिवर्तनको बहस गर्माइरहँदा तल्ला कमिटीहरू पनि क्रमशः तात्न थालेका छन्। यसबीच राजधानी प्रदेश कमिटी पार्टी पुनर्गठनको पक्षमा उभिएको छ। आज महासचिव शंकर पोखरेललाई निर्वाचन समीक्षा प्रतिवेदन पेश गर्दै प्रदेश कमिटीले नवयुवा (जेनजी) हरूको आवाज सुन्न र तदनुसार अभियान सञ्चालन गर्न सुझाव दिएको हो।

प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख शशीजंग थापाले वक्तव्यमार्फत जानकारी दिँदै भने, ‘पार्टीलाई आगामी दिनमा युवामाझ स्थापित गर्न पार्टीभित्र शुद्धीकरण तथा नवयुवालक्षित राजनीतिक, वैचारिक र एजेन्डामुखी अभियान सञ्चालन गर्न सुझाव प्रतिवेदन दिएको छ।’ एमालेले चैत अन्तिम साताभित्र प्रदेशस्तरीय निर्वाचन समीक्षा सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो। सोहीअनुसार जिल्ला तहमा समीक्षा भेला गरी बुझाइएको प्रतिवेदनमा चुनावी पराजयमा आन्तरिक र बाह्य दुवै कारण औंल्याइएको छ।

प्रतिवेदनले भदौ २४ को विध्वंसबाट फैलिएको भय, सामाजिक सञ्जालमा व्याप्त मिथ्या समाचार र सूचनाको प्रभाव, राजनीतिमा व्याप्त अवसरवाद, अराजकतावाद र प्रियतावादलाई बाह्य कारण ठानेको छ। विध्वंस पछाडि लुकेको षड्यन्त्रलाई जनतामाझ स्थापित गर्न नसक्दा निर्वाचन प्रभावित भएको निष्कर्ष प्रतिवेदनमा छ। आन्तरिकतर्फ नवयुवाहरूको परिवर्तनप्रतिको आकांक्षा, पार्टीप्रति उठेका कतिपय विषयमा वस्तुगत र ठोस तथा एकीकृत धारणा सार्वजनिक गर्न नसक्नुलाई मुख्य कारण मानिएको छ। पार्टीको स्थापित विधि र प्रक्रियाबाट यी सबै विषयमा व्यापक छलफल, विश्लेषण र सुधार तथा आवश्यकताअनुसार पुनर्गठन अभियान सञ्चालन गर्न प्रतिवेदनले सुझाव दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button