चीन-भियतनाम ‘३+३’ रणनीतिक संवाद : विकास र सुरक्षाका लागि नयाँ कोसेढुङ्गा

हनोई, १६ मार्च : चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यी र भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा विदेशमन्त्री ले होइ चुङबीच आइतबार हनोईमा भेटवार्ता भएको छ। उक्त भेटमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयमा केन्द्रित भएर छलफल भएको थियो।
चिनियाँ विदेशमन्त्री वाङ यीले भियतनामको १४औं राष्ट्रिय कांग्रेसपछि दुई पार्टीका शीर्ष नेताबीच भएको सहमतिअनुसार चीन-भियतनाम कूटनीति, प्रतिरक्षा र सार्वजनिक सुरक्षा क्षेत्रको ‘३+३’ रणनीतिक संवादको पहिलो मन्त्रीस्तरीय बैठक तथा द्विपक्षीय सहकार्य निर्देशक समितिको १७औं बैठक आयोजना गर्ने सहमति भएको स्मरण गराए। उनले शीर्ष नेताबीचको रणनीतिक सहमतिअनुरूप यी महत्त्वपूर्ण संयन्त्रहरूले विकास र सुरक्षाका दुई ठूला विषयबीच तादात्म्य कायम गर्दै समाजवादी मार्गलाई अघि बढाउन आवश्यक कदम चाल्न र अन्तर्राष्ट्रिय समुदायसमक्ष चीन र भियतनामबीचको एकता, पारस्परिक विश्वास र साझा प्रगतिको सकारात्मक सन्देश प्रवाहित गर्न भूमिका खेल्नुपर्ने बताए।
उनले यस वर्ष चीनको १५औं पञ्चवर्षीय योजनाको शुरुवात र भियतनामको राष्ट्रिय उत्थानको नयाँ युगको सन्दर्भमा दुवै देशको समाजवादी आन्दोलनका लागि अभूतपूर्व अवसरहरू सिर्जना भएको उल्लेख गरे। चीन र भियतनामको समाजवादी प्रणालीको सामर्थ्य झन् प्रखर हुँदै गएको र चीन-भियतनाम साझा भविष्यको सामुदायिक अवधारणाको रणनीतिक मूल्य निरन्तर उच्च हुँदै गएको उनको भनाइ थियो।
चिनियाँ विदेशमन्त्रीले दुई देशबीच रणनीतिक विश्वास गहिरो बनाउन, रणनीतिक सहकार्य सुदृढ गर्न, परिवर्तनशील परिस्थितिमा विकासलाई अघि बढाउन र संकटको बेला सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको बताए। उनले चीन-भियतनाम सहकार्यको स्थिरताले बाह्य अनिश्चितताहरूको सामना गर्न, दुई देशका जनताको कल्याणमा सुधार ल्याउन, समाजवादी आन्दोलनको रक्षा गर्न र मानव जातिको साझा भविष्यको समुदाय निर्माणमा दीर्घकालीन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, भियतनामी विदेशमन्त्री ले होइ चुङले भियतनाम र चीनबीच कमरेड एवम् भाइको भावनाबाट निर्देशित भएर दुवै पक्षले दुई पार्टीका शीर्ष नेताबीचको रणनीतिक सहमति कार्यान्वयन गर्न सक्षम हुने विश्वास व्यक्त गरे। उनले भियतनाम सधैं चीनको विकास र समृद्धि, उसको अन्तर्राष्ट्रिय हैसियतमा वृद्धि र समाजवादी आन्दोलन तथा विश्व शान्ति, स्थायित्व र विकासमा उसको योगदानको समर्थन गर्न तत्पर रहेको बताए।
भियतनाम एक-चीन नीतिप्रति दृढ रहेको र सिनच्याङ तथा भोट (तिब्बत) सम्बन्धी मुद्दामा चीनको अडानको सधैं समर्थन गर्ने उनको भनाइ थियो। उनले चीनसँग मिलेर उच्चस्तरीय आदान-प्रदानको अर्को चरणको योजना बनाउन, अन्तरपार्टी आदान-प्रदान सुदृढ गर्न, व्यापार, लगानी, हरित विकास र सम्पर्क सञ्जालमा व्यावहारिक सहकार्य प्रवर्द्धन गर्न, सांस्कृतिक आदान-प्रदान परियोजनाहरू कार्यान्वयन गर्न र रणनीतिक रूपमा महत्त्वपूर्ण चीन-भियतनाम साझा भविष्यको समुदायलाई अझ गहिरो र सुदृढ बनाउन हातेमालो गर्न भियतनाम इच्छुक रहेको बताए।





