गृहमन्त्री गुरुङको असन्तुष्टि : ‘ठूलो त जज लाग्न थालेको छ’, अदालतबाट नछुट्ने गरी कारबाहीको तयारी

काठमाडौं। उच्च पदस्थहरू अदालतबाट छुटेकोप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्। गृहमन्त्री बनेलगत्तैदेखि आफूले सुशासन कायम गर्ने कुरालाई प्राथमिकता दिएको बताउँदै उनले कार्की आयोगको प्रतिवेदन पनि तत्कालै कार्यान्वयनमा लगिएको बताए। तर, अदालतबाट आरोपित छुटेको विषयमा भने उनले असन्तुष्टि जनाएका छन्।
बिहीबार बेलुकी पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, ‘मलाई लागेको थियो, सबैभन्दा ठूलो मन्त्री हो, यहाँबाट सबै सुधार्न सकिन्छ। तर, होइन रहेछ, आजभोलि मलाई ठूलो त जज (न्यायाधीश) लाग्न थालेको छ।’ आफूले अहिले विगतको घटनाबारे सिकेको भन्दै अदालतले नछाड्ने गरी कारबाही कसरी गर्ने भन्ने विषयमा अध्ययन थालेको उनले बताए। ‘म अहिले रातिरातिसम्म पनि कानुनका किताबहरू पढेर बस्न थालेको छु,’ उनले भने, ‘मैले प्रहरीलाई अदालतबाट नछुट्ने गरी तयारी गर्नुस् भनिसकेको छु।’
गुरुङले कानुनी विषय अध्ययनका लागि छुट्टै टोलीसमेत बनाइसकेको भन्दै अबदेखि त्यस्तो नदोहोरिने बताए। २३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न भन्दै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। तर, अदालतको आदेशपछि उनीहरू छुटेका थिए। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का समेत अदालतको आदेशमा छुटेका थिए।





