‘अपेक्षित निर्णय आएन, कानुनी बाटो सकियो’ : सर्वोच्चको फैसलापछि कांग्रेस नेता महतको प्रतिक्रिया, सभापति थापाको जिम्मेवारीमा जोड

काठमाडौं, वैशाख ५ — नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि रिट निवेदक पक्षका नेताहरूले अपेक्षित निर्णय नआएको प्रतिक्रिया दिएका छन्। शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले कानुनी रूपमा जाने ठाउँ समाप्त भएको बताएका छन्।
‘अपेक्षित निर्णय आएन। कानुनी रूपमा हामी यसभन्दा जाने अर्को ठाउँ समाप्त भयो,’ महतले सर्वोच्चको फैसलापछि सञ्चारकर्मीसँग भने। उनले अब राजनीतिक रूपमा कांग्रेस पार्टी कसरी अघि बढ्छ भन्ने विषयमा प्रश्न रहेको बताए।
‘अब राजनीतिक रूपमा नेपाली कांग्रेस पार्टी कसरी जान्छ भन्ने कुरामा अहिले पनि प्रश्नवाचक छ। चुनौतीपूर्ण घडी देशमा छ, कांग्रेस यो अवस्थामा छ,’ उनले भने, ‘त्यसकारण यो सबैलाई के गरेर लैजाने भन्ने महत्त्वपूर्ण कुरा छ।’
महतले १५औं महाधिवेशन सबैलाई मान्य हुने गरी समझदारी गर्दै साझा सूत्र अघि सारेर जानुपर्नेमा जोड दिए। ‘१५औं महाधिवेशन सबैलाई मान्य हुने गरेर समझदारीको साझा सूत्र अगाडि सारेर अधिवेशन तयारी समिति सबैको समझदारीमा हुन सक्यो भने पार्टी एक हुन सक्छ,’ उनले भने, ‘त्यसको पहल गर्ने जिम्मेवारी उहाँहरूको हो, आधिकारिकता उहाँहरूलाई नै दिइसकेपछि। त्यो अवस्थामा एकीकृत बनाएर लैजाने कसरी, अगाडि कसरी बढाएर लैजाने भन्ने कुरा मुख्य हो।’
उनले पार्टीका नेताहरूलाई एक ठाउँमा ल्याएर अघि बढाउने जिम्मेवारी सभापति गगन थापाको भएको पनि स्पष्ट पारे। ‘एक बनाएर लैजाने र यसका लागि पहल गर्ने जिम्मेवारी गगनजीको हुन्छ,’ उनले भने।





