८ बैशाख २०८३, मंगलवार

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आउँदै

काठमाडौं – बैशाख ५ । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार (चैत २९ गते) काठमाडौं आउँदै छन्। वालेन्द्र शाह नेतृत्वको सरकारसँग सम्बन्ध सुदृढ गर्ने प्रयासस्वरूप हुन लागेको यो भ्रमण पछिल्लो समयमा नेपाल आउन लागेको सबैभन्दा उच्च तहको अमेरिकी कूटनीतिक उपस्थिति मानिएको छ।

उनी तीनदिने भ्रमणका लागि आउन लागेका हुन्। यस भ्रमणका क्रममा कपुरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट्ने कार्यक्रम रहेको छ। साथै, नेपाल–अमेरिका उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरूसँग पनि उनको भेटवार्ता हुनेछ।

प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटबारे भने अहिलेसम्म स्पष्ट छैन। भ्रमणबारे जानकार अधिकारीहरूका अनुसार शुक्रबार साँझसम्म अमेरिकी पक्षले प्रधानमन्त्रीसँग भेटको लागि कुनै औपचारिक अनुरोध गरेको छैन। तर, नयाँ सरकार गठन भएलगत्तै यस तहको अधिकारीलाई पठाउनुले अमेरिकी पक्षको गम्भीरता देखाउँछ।

परराष्ट्र मन्त्रालयका अनुसार कपुर यसअघि नै काठमाडौं आउने पक्षमा थिए तर २१ फागुनको संसदीय निर्वाचन र त्यसपछिको आन्तरिक राजनीतिक कारण देखाउँदै भ्रमण स्थगन गरिएको थियो। भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन।

यस भ्रमणमा कपुरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि सहभागी हुनेछन्। उनीहरूको बसाइका क्रममा पाटन दरबार क्षेत्रको अवलोकन पनि रहेको छ। यसअघि जनवरीमा अमेरिकी संसदको विदेश मामिला समितिलाई सम्बोधन गर्दै कपुरले नेपालको निर्वाचन निष्पक्ष हुने विश्वास र नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button