चीनको क्रान्तिकारी आविष्कार : ‘दीर्घ जीन’ को खोजी, एक पटक रोपेपछि वर्षौं टिक्ने बहुवर्षीय धान

बेइजिङ। चिनियाँ वैज्ञानिकहरूले जंगली धानमा ‘दीर्घ जीन’ (Long Genes) को विशेषता पत्ता लगाएका छन्। यस सफलताले अब धान पनि बहुवर्षीय (Perennial) बाली बन्ने सम्भावना बढाएको छ। हजारौं वर्षदेखि चीनका किसानले अन्य विश्वका भूभागका किसान झैं मौसमपिच्छे धान रोप्ने र काट्ने गर्दै आएका छन्। तर अब, चिनियाँ वैज्ञानिकहरूले यस्तो धान विकास गर्दै छन्, जुन एक पटक रोपेपछि वर्षौंसम्म टिक्न सक्छ।
चाइनिज एकेडेमी अफ साइन्सेजको अनुसन्धान टोलीले जंगली धानमा ‘दीर्घ जीन’ को तत्व पत्ता लगाएको छ। उनीहरूले सफलतापूर्वक ती जीनहरू आधुनिक खेतीयोग्य धानमा मिसाएपछि नयाँ प्रकारको धानको विकास भएको हो। यस्तो धान एक पटक फलेपछि काट्नुपर्दैन। पुनः केही समयपछि आफैं फल्ने बताइएको छ। चीनको दक्षिणमा समुद्री टापुको रूपमा रहेको हाइनान प्रान्तमा नयाँ धानका बेर्नाले अद्भुत जीवनशक्ति देखाएका छन्। धान काटेपछि सुक्नुको सट्टा, पुनः उम्रेका नयाँ टुसाबाट फेरि धान फलेको छ।
चाइनिज एकेडेमी अफ साइन्सेजका शिक्षाविद् तथा उक्त अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक हान बिनले भने, ‘हामीले अहिले प्रयोग गर्दै आएको धानको बीउले वर्षमा दुईदेखि तीन पटक उत्पादन दिन्छ। यो दुई वर्षसम्म टिकेको देखिन्छ। बाली पाकेपछि त्यसको छेउमा नयाँ टुसाहरू उम्रिन्छन्। यसले बलियो जीवशक्ति देखाएको छ। यसलाई हामी ‘दीर्घ जीन’ भन्छौं। यसबाट धानबाली सधैं हराभरा अवस्थामा हुने गरेको छ।’ वैज्ञानिकहरूका अनुसार यो नयाँ बहुवर्षीय धान विशेषगरी पहाडी र भिरालो जमिनका लागि उपयुक्त छ। ठूला मेसिनहरू प्रयोग गर्न नसकिने ठाउँमा यस्तो बीउको प्रयोग उपयुक्त हुने देखिएको छ। वैज्ञानिकहरूको धानसम्बन्धी अध्ययनको विस्तृत विवरण मार्चको अन्त्यतिर ‘साइन्स’ पत्रिकामा प्रकाशित भइसकेको छ। यो आविष्कारले धान खेतीमा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ। किसानले प्रत्येक वर्ष बीउ रोप्नुपर्ने बाध्यता हट्ने र श्रम तथा समयको बचत हुने देखिन्छ। तर यो प्रविधि व्यावसायिक रूपमा सफल हुन अझै अनुसन्धान आवश्यक रहेको बताइएको छ।





