६ बैशाख २०८३, आईतवार

घर जलेपछि स्याउलाको छाप्रोमा बसेको चेपाङ परिवारलाई नयाँ पक्की घर

हेटौंडा । घर जलेर स्याउलाको छाप्रोमा बस्दै आएको एक चेपाङ परिवारले नयाँ पक्की घर पाएको छ। श्रम संस्कृति पार्टी मकवानपुरले राक्सिराङ गाउँपालिका–३ लावतीका अग्निपीडित निशामाया चेपाङको परिवारका लागि नयाँ घर बनाइदिएको हो। राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तानले निशामाया परिवारलाई गृहप्रवेश गराएका छन्।

करिब १० धुर जमिनमा श्रम संस्कृति पार्टीका कार्यकर्ताले श्रमदान र चन्दा संकलन गरेर जस्तापाताको छाना भएको दुई कोठे भवन बनाएका थिए। श्रमदानसहित २ लाख ५ हजार रुपैयाँको लगानीमा उक्त घर निर्माण गरेको पार्टी अध्यक्ष सिन्तानले बताए। गत चैत ४ मा निशाको घरमा आगो लागेर पूर्णरूपमा जलेको थियो। घर जलेर करिब ६ लाख बराबरको क्षति भएको थियो। घर जलेपछि चेपाङ परिवार खोरियामा स्याउलाको छाप्रो बनाएर बस्दै आएको थियो। नयाँ घर निर्माण भएपछि परिवारलाई राहत मिलेको छ। यसले विपद्मा परेकाहरूको सहायतार्थ स्थानीय पार्टी र समुदायको सक्रियता देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button