सिक्किमका कवि सिमयोन सुकिता राईलाई ‘गामबेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’

ललितपुर । सिक्किमका युवा कवि सिमयोन सुकिता राई ‘गामबेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८२’ बाट सम्मानित भएका छन्। ललितपुरको धोबीघाटमा शुक्रबार आयोजित एक विशेष समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। गुरुकुल एजुकेसन फाउन्डेसन र नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM) को संयुक्त आयोजनामा सम्पन्न ‘एनसिएम डे–२०८२’ मा राईलाई उनको कृति ‘सिमयोन सिम्फोनी’ का लागि पुरस्कृत गरिएको हो।
पुरस्कारका लागि प्राप्त देशभरका र विदेशस्थित नेपाली भाषी स्रष्टाहरूको कृतिमध्येबाट राईको कृति उत्कृष्ट ठहरिएको थियो। उनलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिएको छ। पुरस्कार ग्रहण गर्दै कवि राईले भने, ‘म गाउँको मान्छे हुँ। सिक्किमको माटोमा घाँसदाउरा गर्दागर्दै मैले कविता लेख्न सिकेँ। आज सीमानापारि आएर नेपाली भाषीहरूसँग यो खुसी साट्न पाउँदा जिम्मेवारीबोध थपिएको छ।’

यस विधामा उमेश अवस्थी आदर्शको ‘सन्ध्यामा सूर्य’, सबिना राईको ‘घामको जरा’ र दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ शीर्ष ४ मा मनोनित भएका थिए। अघिल्लो वर्ष युवा कवि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ सम्मानित भएको थियो। नेपाली गीत र कविताका शिखर पुरुष स्व. क्षेत्रप्रताप अधिकारी (गामबेसीका कवि) को साहित्यिक योगदानलाई अमर राख्न र नयाँ पुस्तालाई साहित्यतर्फ प्रोत्साहित गर्न यो पुरस्कार स्थापना गरिएको हो। पुरस्कार संयोजक अमनप्रताप अधिकारीले हरेक वर्ष नवीनतम काव्यकृति प्रकाशित गर्ने युवा स्रष्टालाई प्रदान गरिने यो पुरस्कारका लागि यस वर्ष देशभर र विदेशबाट प्राप्त कविता संग्रहहरूमध्येबाट उत्कृष्ट ४ कृति मनोनित गरी अन्तिम निर्णयका लागि निर्णायक मण्डलमा पठाइएको बताए।

पुरस्कारका लागि नेपाली भाषामा लेखिएका, आईएसबिएन नम्बर प्राप्त वा स्वप्रकाशित गद्य तथा पद्य दुवै शैलीका कविता संग्रहहरू योग्य थिए। कविको उमेर ३५ वर्षभन्दा कम र प्रकाशन मिति २०८१ फागुन १ देखि २०८२ फागुन १ सम्म हुनुपर्ने शर्त रहेको थियो। ललितपुरको धोबीघाटस्थित कलेज प्राङ्गणमा आयोजित उक्त समारोहमा विद्यार्थीहरूको बाक्लो उपस्थिति, सांस्कृतिक प्रस्तुति र साहित्यिक माहोलले कार्यक्रमलाई उत्सवमय बनाएको थियो।





