२१ बैशाख २०८३, सोमबार

एसकेएम पार्टीको नारीमुखी नेतृत्व : सिक्किममा महिला सशक्तीकरणको उदाहरणीय अभ्यास

गान्तोक। सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम) का अध्यक्ष तथा सिक्किम सरकारका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को नेतृत्वमा पार्टी आज एक सशक्त नारीमुखी पार्टीको रूपमा स्थापित भएको छ। महिलाको अधिकार, सम्मान, प्रतिनिधित्व र सशक्तीकरणलाई केवल नारामा सीमित नराखी नीतिगत र व्यवहारिक रूपमा कार्यान्वयन गर्नु एसकेएम पार्टीको विशेषता रहँदै आएको छ। एसकेएम पार्टी देशकै ती राजनीतिक दलमध्ये एक हो जसले प्रारम्भमै पार्टी अध्यक्षको रूपमा महिला नेतृत्वलाई स्थान दिएको थियो। यही दूरदर्शी सोचले सिक्किममा महिलाको राजनीतिक सहभागितालाई नयाँ आयाम दिएको छ।

विश्वका धेरै भागमा महिला सहभागिता अझै सन्तोषजनक रूपमा बढ्न नसकिरहेको अवस्थामा पनि सिक्किमले मुख्यमन्त्री तामाङको नेतृत्वमा यस क्षेत्रमा उदाहरणीय अभ्यास प्रस्तुत गरिरहेको छ। उहाँकै नेतृत्वमा प्रहरी भर्नामा महिलाका लागि ३० प्रतिशत आरक्षण, पञ्चायती राज व्यवस्थामा ५० प्रतिशत महिला आरक्षणको सुदृढीकरण, शहरी स्थानीय निकाय (युलबी) मा ५० प्रतिशत आरक्षणको प्रभावकारी कार्यान्वयन, तथा २०२२ को ग्रामीण तहको तथ्यांकअनुसार ११४९ निर्वाचित प्रतिनिधिमध्ये ६६५ महिला (५८ प्रतिशत) प्रतिनिधित्व सुनिश्चित हुनु आफैंमा ऐतिहासिक उपलब्धि हो।

आज २० जना महिला विभागीय प्रमुख तथा सचिवको भूमिकामा रहनु र प्रत्येक जिल्लाका स्वयं सहायता समूहहरूबाट एकजना महिलालाई अध्यक्ष वा ओएसडीको रूपमा मनोनयन गरिनु पनि यही नीतिगत प्रतिबद्धताको स्पष्ट परिणाम हो। महिलाको आर्थिक र सामाजिक सशक्तीकरणका लागि आमा सशक्तीकरण योजना, आमा सहयोग योजना, वात्सल्य योजना लगायत विभिन्न जनमुखी योजनाहरू प्रभावकारी रूपमा सञ्चालनमा रहेका छन्। हिजो ३३ प्रतिशत नारी शक्ति वन्दन अधिनियम शीघ्र कार्यान्वयनको मागसहित सम्पन्न भएको विशाल समर्थन र्यालीले पनि स्पष्ट रूपमा देखाएको छ कि एसकेएम पार्टी साँच्चै नै नारीमुखी पार्टी हो। एसकेएम पार्टीकी प्रवक्ता अन्जना शर्माले यस्तो दूरदर्शी नेतृत्वप्रति गर्व व्यक्त गरेकी छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button