इरानी नागरिकमाथिको रोक : के नेपालले असंलग्नताको बाटो छाड्दै छ?

काठमाडौं / नेपाल सरकारले हालै इरानी नागरिकलाई नेपाल प्रवेशमा लगाएको प्रतिबन्धले गम्भीर प्रश्न खडा गरेको छ। यो कदम नेपालको ऐतिहासिक असंलग्न परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्तहरूको खुलेआम उल्लंघन भएको नेपाली कम्युनिष्ट पार्टीका नेता देव प्रसाद गुरुङले बताएका छन्।
नेता गुरुङले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हालै अमेरिका र इजरायलले इरानमाथि क्षेप्यास्त्र आक्रमण गरेको सन्दर्भमा नेपाल सरकारले त्यसको विरोध गर्नुपर्ने थियो। त्यसको सट्टा इरानी नागरिकमाथि नै प्रतिबन्ध लगाउनु दुर्भाग्यपूर्ण छ।’

मध्यपूर्वमा इरानमाथिको आक्रमणपछि प्रत्याक्रमणको क्रम सुरु भइसकेको र युद्धको अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले नेपालले तत्काल युद्धको विरोध गर्दै दुवै पक्षसँग शान्तिपूर्ण वार्ताको बाटो अवलम्बन गर्न जोड दिनुपर्नेमा जोड दिएका छन्।
‘संयुक्त राष्ट्र संघको वडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु कर्तव्य हो। युद्धरत एउटा पक्ष (इरान)को नागरिकमाथि मात्र प्रतिबन्ध लगाउनु गलत हो,’ वक्तव्यमा भनिएको छ, ‘यदि प्रतिबन्ध लगाउने नै हो भने युद्धरत दुवै पक्ष (इरानका साथै अमेरिका–इजरायल)का नागरिकमाथि समेत प्रतिबन्ध लगाउन सक्नुपर्छ।’
नेता गुरुङले यस प्रकारको एकपक्षीय नीतिले नेपालको स्वाधीनता र परराष्ट्र नीतिकै लागि घातक हुनसक्ने चेतावनी दिएका छन्। उनले सरकारसँग संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्नता र अन्तर्राष्ट्रिय कानुनको अवलम्बन गर्न जोडदार माग गरेका छन्।
‘असंलग्न परराष्ट्र नीति नेपालको पहिचान हो। यसलाई कमजोर बनाउन दिनु हुँदैन,’ वक्तव्यको अन्त्यमा भनिएको छ।





