पेट्रोल २१९, डिजेल २३७ रुपैयाँ : जेनजी अभियानले आयल निगम घेर्ने चेतावनी दियो, भारतमा मूल्य १५२ रुपैयाँ

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले नेपाल आयल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सङ्गठनले पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धि नघटाए आयल निगम घेर्ने चेतावनी दिएको हो। अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे आयल निगम घेराउ गर्ने बताए। ‘जनतालाई पुरानाहरूको जन्जालबाट मुक्त गर्छु भन्ने नयाँहरूले जनतालाई महँगीको भारले थिचे, दुई तिहाइको उपहारले यही हो,’ सिंहले प्रश्न गरे, ‘यदि सरकारले जनताको आवाज सुनेन भने आयल निगमको अस्तित्व समाप्त गर्न सघर्ष गर्नेछौं।’
सहसंयोजक अजय सोडारीले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथावत रहे पनि नेपालमा अत्यधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाउँदै भने, ‘छिमेकी भारतमा पेट्रोलको मूल्य १५२ रुपैयाँ हुँदा नेपालमा २१९ रुपैयाँ हुनु लाजमर्दो विषय हो।’ ५० प्रतिशत कर छुट भनेर जनतामाथि महँगी थोपरिएको आरोप लगाउँदै उनले कर छुटको नाटक गर्ने सरकार र आयल निगमलाई घेराउ गर्न नपरोस् भन्ने चेतावनी दिए। दुई तिहाइको सरकारले जनतालाई न्याय देला भन्ने अपेक्षाबीच पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्य वृद्धि गरेको बताउँदै सोडारीले भने, ‘पेट्रोलको प्रतिलिटर १५७ बाट २१९ पुगेको छ, डिजेल तथा मट्टीतेलमा १४२ बाट २३७ पुगेर सरकारले आफ्नो शक्ति देखाइदियो।’
सोडारीले सरकारको जनविरोधी कार्यको व्यापक विरोध गर्नुको सट्टा सबै मौन रहेकोप्रति रोष व्यक्त गर्दै भने, ‘महँगी बढेको बढ्यै छ, मानौ यो सरकार र जनताको लागि मौन अवधि हो। यस्तो हुँदा पनि सबै चुपचाप छन्।’ उनले परराष्ट्र र कूटनीति खलबलिँदै गएको र कालापानी–लिपुलेखको भूमि अरू देशले नै प्रयोग गर्न लागिरहँदा सबै चुपचाप रहेको भन्दै आक्रोश व्यक्त गरे। ‘हामी लास र दोष होइनौं, हाम्रो विवेक छ। लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको अपहरण सह्य छैन। जनजीविका र जनताका आधारभूत समस्यामा हामी एक दिन त के, एक घण्टा पनि कुर्न तयार छैनौं,’ सोडारीले भने।
जेनजीका अर्का कार्यकर्ता प्रकाश बमले जेनजी आन्दोलनको बलबाट आएको बालेन सरकारले सिंहदरबारमा सर्वसाधारणलाई निषेध गरेर तानाशाही कदमतिर उन्मुख भएको आरोप लगाए। जेनजी कार्यकर्ता जनम सिंहले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए। सुशील बुढाथोकीले इन्धनको मूल्यलाई स्थिर नराखे सबैतिर महँगी आकाशिने भएकाले तत्काल मूल्य घटाउनुपर्ने बताए। अनिष त्रिपाठीले पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्य वृद्धिले दुई तिहाइको बालेन सरकारले जनताको आशा र भरोसामाथि कुठाराघात गरेको जिकिर गरे। हाल नेपालमा पेट्रोल २१९ रुपैयाँ र डिजेल २३७ रुपैयाँ प्रतिलिटर रहेको छ भने छिमेकी भारतमा पेट्रोल १५२ रुपैयाँ र डिजेल १४० रुपैयाँ प्रतिलिटर रहेको आयोजकले जनाएको छ।





