केन्द्रीय पशुपन्छी तथा डेरी मन्त्रीलाई सिक्किमको प्रतिनिधिमण्डलले ‘मिसन सिरी’ परियोजनाको प्रस्ताव बुझायो

नयाँ दिल्ली । सिक्किम सरकारको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित केन्द्रीय मन्त्रीको सरकारी निवासमा केन्द्रीय मत्स्य, पशुपन्छी तथा डेरी मन्त्री राजीव रंजन सिंह ‘लालन सिंह’लाई भेट गरेको छ। सिक्किमका पशुपन्छी तथा पशु चिकित्सा सेवा, कृषि, बागवानी तथा मत्स्य मन्त्री पूरन कुमार गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा सिक्किम सरकारका पशुपन्छी तथा पशु चिकित्सा सेवा विभागका प्रिन्सिपल डाइरेक्टर डा. के.टी. भूटिया र सिक्किम लाइभस्टक डेभलपमेन्ट बोर्डका मुख्य कार्यकारी अधिकृत डा. प्रतिक शर्मा पनि सहभागी थिए।

भेटका क्रममा सिक्किमी प्रतिनिधिमण्डलले केन्द्रीय मन्त्रीलाई सिक्किमका मुख्यमन्त्रीद्वारा हस्ताक्षरित अर्ध-सरकारी (डेमी-अफिसियल) पत्र बुझाएको थियो। उक्त पत्रमा राज्यमा ‘सिरी’ गाईको संरक्षण र प्रवर्द्धनको लागि प्रस्तावित प्रमुख संरक्षण परियोजना ‘मिसन सिरी’ को बारेमा उल्लेख गरिएको थियो। यो परियोजना राष्ट्रिय गोकुल मिसन अन्तर्गत सिक्किम लाइभस्टक डेभलपमेन्ट बोर्डद्वारा कार्यान्वयन गर्न प्रस्ताव गरिएको छ। छलफल मैत्रीपूर्ण र रचनात्मक वातावरणमा भएको थियो। केन्द्रीय मन्त्रीले सिक्किमी प्रतिनिधिमण्डलले प्रस्तुत गरेका मुद्दा र प्रस्तावहरूलाई धैर्यतापूर्वक सुने। उनले यस पहलको प्रशंसा गर्दै ‘मिसन सिरी’ को सफल कार्यान्वयनको लागि भारत सरकारको तर्फबाट सम्भावित सबै सहयोगको आश्वासन दिए। बैठक सकारात्मक नोटमा समाप्त भएको थियो, जसले सिक्किममा पशुधन विकास र संरक्षण प्रयासहरूलाई सुदृढ बनाउन दृढ सहकार्य र प्रतिबद्धता झल्काउँछ।





