६ बैशाख २०८३, आईतवार

मुस्ताङको राताम्मे पहाडमा गुफाभित्रको गुम्बा : ‘मिन्ची ल्हवङ’ एक हजार २०० वर्ष पुरानो ऐतिहासिक धरोहर

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएको गुफाभित्र एउटा गुम्बा रहेको छ। यो गुम्बा करिब एक हजार २०० वर्षभन्दा पुरानो मानिन्छ। जोमसोम हुँदै कागबेनी–कोरला सडकको नजिकै भिरालो सतहमा अवस्थित यस गुफाभित्रको गुम्बालाई ‘मिन्ची ल्हवङ’ गुम्बा भनिन्छ। यो गुफाभित्रको धार्मिक बौद्ध गुम्बा छुसाङ गाउँका छ परिवारको स्वामित्वमा रहेको छ। दैनिक साँझ यी छ परिवारका व्यक्तिले बर्सेनि आलोपालो गरी बत्ती बाल्ने र पूजाआजा गर्ने गर्दछन्।

कोरला सडकमार्गको माथि भिरालो सतहमा अवस्थित यो गुफा निकै जोखिमयुक्त स्थानमा छ। परापूर्व कालमा छुसाङ गाउँका पूर्खाहरूले पहाड खोपेर यो गुम्बा प्रतिस्थापन गरेका स्थानीय बताउँछन्। गुम्बाको स्वामित्व बोकेका पछिल्ला पुस्तालाई यो गुम्बा कति वर्ष पुरानो हो भन्ने यकिन जानकारी नभएको परिवारमध्येका स्थानीय श्याम गुरुङले बताए। परापूर्वकालमा मनाङबाट आएका पूर्खाले आफ्नो देवतालाई साथै लिएर छुसाङ गाउँमा स्थानान्तरण भएको भन्ने विश्वास रहँदै आएको उनले बताए।

निकै कमजोर भू–सतहमा अवस्थित गुफा आफैंमा जोखिम स्थानमा रहेको भन्दै गुरुङले पुरातात्विक र ऐतिहासिक महत्त्वको यस गुफा र भित्र रहेको गुम्बा संरक्षण गर्नुपर्ने अभिभारा यहाँका छ परिवारलाई रहेको बताए। वर्षौंदेखि यिनै छ परिवारका पुस्ताले गुफा र गुम्बाको संरक्षण गर्दै आइरहेका छन्। करिब एक सय मिटर अग्लो माटोको पहाडमा रहेको गुफामा भूक्षय र बाढीले क्षति पुर्याउन सक्ने जोखिम रहेकाले सरोकार भएका निकायले यसको संरक्षण गर्नुपर्नेमा गुरुङले जोड दिए। भगवानको शक्तिले गुफा र गुफाभित्रको गुम्बामा हालसम्म कुनै असर नभएको उनले उल्लेख गरे।

यस अनौठो गुफाभित्रको माथिल्लो तलामा गुम्बा प्रतिस्थापन गरिएको छ। गुम्बामा अधिकांश माटोद्वारा निर्मित बुद्धका विभिन्न स्वरुपका मूर्तिहरू ८०० वर्षभन्दा बढी पुराना रहेको गुरुङले बताए। एउटा फ्रेम (चौघेरो) भित्र राखिएको हरिताराको ढुङ्गाको मूर्ति एक हजार २०० वर्ष पुरानो रहेको उनको विश्वास छ। गुम्बाभित्र एक दर्जन बुद्ध भगवानका विभिन्न स्वरुपका मूर्तिहरू रहेका छन्। ‘गुम्बामा चन्दा सङ्कलनका लागि बाकस राखिएको छ। गुफा र गुम्बा दर्शन गर्ने तथा विदेशी पर्यटकले स्वेच्छिक चन्दा दान गर्दछन्,’ गुरुङले भने, ‘चन्दा बाकसमा जम्मा भएको रकम गुम्बाको संरक्षण र हिउँ पर्दा गुफाको छतमाथिको हिउँ पन्छाउन खर्च गरिन्छ।’

गुफाभित्रको मिन्ची ल्हवङ गुम्बाको ओढारभित्र वर्षौं पुराना कलात्मक पेन्टिङहरू अवस्थित छन्। गुफाको भूगोलसँग मिल्दो माटोको रङले गुफाको माथिल्लो तलाको भित्ता र सिलिङमा पेन्टिङ गरिएको उनले जानकारी दिए। छुसाङको भिरालो पाखोमा अवस्थित यस गुम्बा तथा गुफाभित्रको पहिलो तला र दोस्रो तलामा उज्यालोका लागि झ्यालजस्ता केही प्वालहरू बनाइएका छन्। गुफाको भुइँतलाबाट माथि उक्लिन दुई वटा काठका भर्याङ राखिएको छ। भर्याङ चढेर गुफाको माथिल्लो तलामा पुग्न सकिन्छ।

व्यक्तिगत रूपमा छ परिवारको स्वामित्वमा रहेकाले यस गुफा र गुम्बाको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको आयआर्जन वृद्धि हुने गुरुङले बताए। ‘यो हाम्रो गुफाभित्रको गुम्बा कुलदेवता जस्तै हो, पूर्खाहरूले पूजाआजा गर्ने थलो हो,’ उनले भने, ‘त्यसैले हामीले यसलाई सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्छ। गुफा र गुम्बा पर्यटक लोभ्याउने खालको भएकाले पर्यटन प्रवर्द्धन गर्नु जरुरी छ।’

हालसम्म गुफा र गुम्बाको प्रचारप्रसार नभएकाले मुस्ताङका अधिकांश मानिस यहाँको गुम्बाबारे अनभिज्ञ रहेको गुरुङको भनाइ छ। कागबेनी–कोरला सडक नजिकै रहेको छुसाङस्थित यो अनौठो गुफाभित्रको मिन्ची ल्हवाङ गुम्बा ऐतिहासिक धरोहर र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य बन्न सक्ने उनले बताए। गुफासम्म जान मुख्य सडकबाट पैदल पाँच मिनेटमा सहजै पुग्न सकिन्छ। यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह र अन्य सरोकार भएका निकायले पहल गर्नुपर्ने स्थानीयको जोड छ। यसको आवश्यक प्रचारप्रसार हुन सकेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै स्थानीयको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button