६ बैशाख २०८३, आईतवार

श्री जनता मावि पूर्व विद्यार्थी समाजको अधिवेशन सम्पन्न, झविलाल शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध

नेपालगञ्ज, — श्री जनता माध्यमिक विद्यालय, सन्तकुटी खजुरा बाँकेको पूर्व विद्यार्थी समाजको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। २०७९ असोज ८ गते गठित समाजको उक्त अधिवेशनले झविलाल शर्माको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

साधारण सभामा समाजको स्थापनाकालदेखिको प्रगति प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गरिएको थियो। सचिव इन्जिनियर विवेक लामिछानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्ना कार्कीले आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन्। उक्त प्रतिवेदनहरू आजीवन सदस्य सभासदहरूको उपस्थितिमा छलफलपश्चात् स्वीकृत गरिएको छ।

समाजका अध्यक्ष झविलाल शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बरविक तुफान रहेका थिए। उपस्थित पूर्व विद्यार्थी तथा अतिथिहरूलाई उपाध्यक्ष पूर्णचन्द्र उपाध्याय (मामा) ले स्वागत मन्तव्य दिएका थिए भने समाजको परिचय सदस्य सचिव टंकनाथ दाहालले गराएका थिए।

पूर्व राज्यमन्त्री सुनारसहित पुराना विद्यार्थी सम्मानित

कार्यक्रममा विद्यालयबाट २०३४, २०३५ र २०३६ सालमा एसएलसी उत्तीर्ण पूर्व विद्यार्थीहरूलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरियो। सम्मानित हुनेहरूमा पूर्व राज्यमन्त्री दलबहादुर सुनार, केरसिंह थापा, खडानन्द भट्टराई, सरिफ खाँ, दिलबहादुर क्षेत्री, रुद्रबहादुर कार्की तथा २०३६ सालका एकमात्र उत्तीर्ण विद्यार्थी देवराम ओली रहेका थिए। साथै, २०८१ सालको एसईईमा विद्यालय प्रथम हुने छात्रा कोषिका खड्का र आठौं मेयर कपअन्तर्गत एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्ने शंकर सुनारलाई पनि सम्मानित गरिएको थियो।

विद्यालय बस खरिदका लागि आर्थिक सहयोगको घोषणा

साधारण सभाकै अवसरमा विद्यालयका लागि बस खरिद गर्न पूर्व विद्यार्थी तथा शुभचिन्तकहरूले आर्थिक सहयोगको घोषणा गरे। जसअन्तर्गत समाजका अध्यक्ष झविलाल शर्माले २५ हजार ५५५ रुपैयाँ, सचिव इन्जिनियर विवेक लामिछानेले ५० हजार, कोषाध्यक्ष रत्ना कार्कीले २५ हजार ५५५, सल्लाहकार ओमप्रकाश देवकोटाले २१ हजार ५, पूर्व राज्यमन्त्री दलबहादुर सुनारले २१ हजार १०५, दिलबहादुर क्षेत्रीले २० हजार ५५५, खडानन्द भट्टराईले ११ हजार ५०५, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश थापाले २५ हजार तथा वीरबहादुर काउचाले ५ हजार रुपैयाँ प्रदान गरेका थिए।

निर्विरोध निर्वाचित नयाँ कार्यसमिति

निर्वाचन अधिकृत भानुभक्त रिजालका अनुसार अधिवेशनबाट अध्यक्षमा झविलाल शर्मा निर्विरोध निर्वाचित भएका छन्। यस्तै, महिला उपाध्यक्षमा सुजाता खरेल, उपाध्यक्षमा इन्जिनियर विवेक लामिछाने, सचिवमा विष्णु पौडेल, कोषाध्यक्षमा रत्ना कार्की, सहसचिवमा महेश खनाल र सहकोषाध्यक्षमा सृजना रानामगर चयन भएका छन्। महिला सदस्यहरूमा कुन्ताकुमारी खत्री र सम्झना पाण्डे तथा खुला सदस्यहरूमा प्रचण्ड गौतम, प्रेम खरेल, अमरनाथ योगी र किसन रानामगर निर्विरोध विजयी भएका छन्। मनोनीत सदस्यहरूमा तेजविक्रम शाह र रामप्रसाद न्यौपाने तथा सल्लाहकारहरूमा टंकनाथ दाहाल, पूर्णचन्द्र उपाध्याय, सतिश निरौला र खीमानन्द देवकोटा रहेका छन्।

कार्यक्रममा पूर्व विद्यार्थी समाजले वार्षिक रूपमा प्रकाशन गर्दै आएको भित्ते पात्रोको समेत प्रमुख अतिथि तथा पदाधिकारीहरूले संयुक्त रूपमा विमोचन गरेका थिए। समाजको साधारण सभाको सम्पूर्ण कार्यक्रम सचिव इन्जिनियर विवेक लामिछानेले सञ्चालन गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button