ट्रम्प रिसाए : जापान, अस्ट्रेलिया र दक्षिण कोरियाको सहयोग नचाहिने दिए धम्की, एनएटीओलाई पनि झट्का !

वासिङ्टन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीमा साथ नदिएको भन्दै परम्परागत सहयोगी राष्ट्रहरूप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। होर्मुज जलडमरुमा देखिएको अवरोध हटाउन अमेरिकी दबाबका बाबजुद कुनै पहल नगरेपछि ट्रम्पले जापान, अस्ट्रेलिया, दक्षिण कोरिया र नेटोका सहयोगी राष्ट्रहरूको सहयोग अमेरिकालाई आवश्यक नपर्ने धम्की दिएका हुन्।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “हामीलाई अब नेटो देशहरूको सहायता ‘आवश्यक’ छैन वा हामी चाहँदैनौं – हामीलाई कहिल्यै आवश्यक थिएन। त्यस्तै, जापान, अस्ट्रेलिया वा दक्षिण कोरियाको पनि आवश्यकता छैन।” उनले अमेरिकालाई कसैको पनि सहायता नचाहिने दोहोर्याउँदै भने, “हामीले यस्तो सैन्य सफलता हासिल गरेका छौं… विश्वमा सबैभन्दा शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा भन्छु, हामीलाई कसैको पनि सहायता आवश्यक पर्दैन!”
ट्रम्पले नेटोले अमेरिकालाई सहयोग नगरेको भन्दै पुन: आलोचना गर्दै भने, “म उनीहरूको कार्यबाट अचम्ममा परेको छैन, किनकि मैले सधैं नेटोलाई एकतर्फी बाटो ठान्थें – जहाँ हामी यिनै देशहरूको सुरक्षामा वर्षौं अर्बौं डलर खर्च गर्छौं। हामी उनीहरूको रक्षा गर्नेछौं, तर उनीहरूले हाम्रो लागि केही गर्दैनन्, विशेषगरी आवश्यकताको समयमा।” व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले नेटोको सदस्यता नै पुनर्विचार गर्नुपर्ने संकेत गरे।
होर्मुज जलडमरुमा बढ्दो तनाव र व्यापारिक मार्गमा परेको असरलाई मध्यनजर गर्दै अमेरिकाले सहयोग मागे पनि साझेदार राष्ट्रहरूले चासो नदेखाएको स्रोतले जनाएको छ। वासिङ्टनले नेटो सदस्य र युरोपेली साझेदारहरूमाथि दबाब बढाए पनि धेरै युरोपेली देशहरूले सैन्य वृद्धि, पूर्व परामर्शको अभाव र फरक रणनीतिक प्राथमिकताको चिन्ता देखाउँदै प्रस्ताव अस्वीकार गरेका छन्।
जर्मन चान्सलर फ्रेडरिक मेर्जले जर्मनीले युद्धपोत पठाउन अस्वीकार गर्दै इरानमाथिको युद्ध ‘नेटोको मामिला नभएको’ स्पष्ट पारे। बेलायती प्रधानमन्त्री केयर स्टार्मरले आफ्नो देश ‘फराकिलो युद्धमा तानिन नदिने’ बताउँदै यो कहिल्यै नेटो अभियान हुने परिकल्पना नगरिएको उल्लेख गरे।
पोलिटिकोका अनुसार युरोपेली संघका कूटनीतिज्ञहरूको हवाला दिँदै यस साता ब्रसेल्समा भेला भएका विदेशमन्त्रीहरू अमेरिकी प्रस्तावको विरोधमा लगभग एकमत थिए। युरोपेली संघकी शीर्ष कूटनीतिज्ञ काजा कालासले भनिन्, “युरोपलाई अनिश्चितकालीन युद्धमा कुनै रुचि छैन। यो युरोपको युद्ध होइन, तर युरोपका हितहरू प्रत्यक्ष रूपमा जोखिममा छन्।”
उल्लेखनीय छ, अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा ठूलो पैमानामा हवाई हमला सुरु गरेका थिए, जसले विश्वव्यापी ढुवानी प्रभावित बनाएको छ, तेलको मूल्य आकासिएको छ र विश्व अर्थतन्त्रमा ठूलो असर परेको छ। ट्रम्पको यो बयानले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ तरंग ल्याएको छ र आगामी दिनमा यसले कूटनीतिक समीकरणमा के प्रभाव पार्छ भन्ने विषय चासोको विषय बनेको छ।





