सल्यान जीप दुर्घटना : चारको मृत्यु, १५ जना घाइते

सल्यान — जिल्लाको बन्गाड कुपिण्डे क्षेत्रमा शनिबार साँझ भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। जन्ती बोकेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जीप दुर्घटनामा परी उक्त क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा थाराका ५२ वर्षीय टोपबहादुर थापा, ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते ३० वर्षीय मानबहादुर थापाको उपचारका क्रममा सुर्खेतको मेहलकुनास्थित अस्पतालमा मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो।
प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दुर्घटनामा घाइते भएका १४ जनाको मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।

बन्गाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरतर्फ जाँदै गरेको जीप शनिबार साँझ करिब ५:३० बजे बन्गाड कुपिण्डे–१२ धाईरेमा अनियन्त्रित भई दुर्घटना भएको थियो। जीपमा चालकसहित १८ जना सवार रहेका थिए।
घटनाप्रति सांसद रमेश मल्लले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनाको सूक्ष्म अध्ययन तथा छानबिन गर्न, घाइतेको उपचार र पीडितलाई राहत उपलब्ध गराउन स्थानीय सरकार र प्रशासनलाई समन्वय गर्न सुझाव दिएका छन्।





