चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइयो, दूतावासको ध्यानाकर्षणपछि सरकार सक्रिय

काठमाडौं – मोरङको विराटनगरस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित पुस्तक जलाइएको घटनाले नेपाल–चीन सम्बन्धमा नयाँ बहस सिर्जना गरेको छ। शनिबार कलेज परिसरमा ठूलो संख्यामा पुस्तक जलाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि यो विवाद चर्किएको हो। नेपालस्थित चिनियाँ दूतावासले यस विषयमा गम्भीर चासो व्यक्त गर्दै परराष्ट्र मन्त्रालयमार्फत छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले घटनाको छानबिन तथा कारबाहीका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। सोही पत्रको आधारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल प्रहरीलाई आवश्यक अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार घटनाको यथार्थ बुझी संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन भइसकेको छ।

यस घटनामा नेपाली राजनीतिक तथा सार्वजनिक क्षेत्रका व्यक्तित्वहरूले समेत चासो व्यक्त गरेका छन्। पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले यस घटनालाई कुकर्मको संज्ञा दिँदै यसले भू-राजनीतिक, कूटनीतिक र आर्थिक सम्बन्ध बिगार्ने बताएका छन्। उनले यस्ता गलत हर्कत रोक्न सरकार र सम्बन्धित निकायलाई सक्रिय हुन आग्रह गर्दै शीघ्र छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
ग्रेटर नेपाल नेशनलिष्ट फ्रण्टका अध्यक्ष फणीन्द्र नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई समकालीन विश्वका ठूला र प्रभावशाली नेता बताउँदै उनको पुस्तक जलाउनु दुःखद भएको उल्लेख गरेका छन्। यदि यो भारत र अमेरिकालाई खुसी पार्ने बदनियतपूर्ण स्वार्थले गरिएको हो भने त्यो गलत भएको उनको भनाइ छ।
राप्रपा अध्यक्ष कमल थापाले पनि यस घटनामा प्रहरी प्रशासन मौन रहेको भन्दै आपत्ति जनाएका छन्। उनले चिनियाँ राष्ट्रपतिको सयौं पुस्तक रातारात जलाइएको तर प्रशासन चुप लागेर बसेको भन्दै प्रश्न उठाएका छन्।
यता कलेज प्रशासनले भने यो घटना नियोजित नभई सरसफाइ र व्यवस्थापनको क्रममा भएको दुर्घटना भएको दाबी गरेको छ। कलेजका सूचना अधिकारी सुजन भुर्तेलले कवाडी, धमिरा र मक्किएका पुस्तक जलाइएको जानकारी दिए। उनका अनुसार ल्याबको कोठालाई विद्यार्थीका लागि वर्कसपका रूपमा प्रयोग गर्न खाली गर्ने क्रममा ती पुस्तक हटाइएको र धमिरा लागेका कारण जलाइएको हो। उनले अझै १० देखि १२ हजार किताब कलेजमा सुरक्षित रहेको बताए।
कलेज प्रशासनमा कार्यरत विकास राईले पनि प्रशासन कार्यालयको रोहबरमै पुस्तक जलाइएको पुष्टि गरे। उनका अनुसार एक पत्रकार र युट्युबरले भिडियो सार्वजनिक गरेपछि यो विवाद बाहिर आएको हो।
मोरङ जिल्ला प्रहरी कार्यालयले पनि पुस्तक जलाएको घटनाबारे जानकारी पाएको पुष्टि गरेको छ। प्रहरी अधिकारीका अनुसार शनिबार दिउँसो १२ बजे पुस्तक जलाइएको थियो भने प्रहरीलाई साँझ ४/५ बजे मात्र खबर आएको थियो। चिनियाँ दूतावासबाट समेत यस विषयमा फोन आएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा भने यस विषयले व्यापक चर्चा पाएको छ। प्राविधिक विषय पढाउने कलेजमा चिनियाँ राष्ट्रपतिको पुस्तक ठूलो संख्यामा किन पुग्यो र किन जलाइयो भन्ने प्रश्न उठेको छ। राजनीतिक नेता लगायत पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले यसबारे जिज्ञासा राखेका छन्।
यस घटनाले नेपाल–चीन कूटनीतिक सम्बन्धमा के प्रभाव पार्ला भन्ने चासो सबैतिर छ। चिनियाँ दूतावासले आधिकारिक रूपमै ध्यानाकर्षण गराइसकेको अवस्थामा सरकारले गम्भीरतापूर्वक छानबिन र कारबाहीको प्रक्रिया अघि बढाएको छ। ड्रागन मिडिया लगायत सयौं मिडियाले यस विषयलाई प्राथमिकताका साथ समाचार बनाएका छन्।
अब हेर्न बाँकी छ, यो घटनाको सत्य के हो र दोषीमाथि के कारबाही हुन्छ। नेपाल–चीन सम्बन्धलाई मधुर बनाइराख्न यस्ता गतिविधि नदोहोरियोस् भन्ने अपेक्षा गरिएको छ।





