६ बैशाख २०८३, आईतवार

पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसमा राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवी पदमार्गमा पैदलयात्रा

नेपालको स्वच्छ हावापानी र स्वस्थ जीवनशैलीको प्रशंसा

काठमाडौं — नेपालको स्वच्छ हावापानी र स्वस्थ जीवनशैलीको प्रशंसा गर्दै काठमाडौंस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूले पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा दक्षिणकाली नगरपालिका–३ स्थित हात्तीवन–चम्पादेवी पदमार्गमा आज पैदलयात्रा गरेका छन्। परराष्ट्र मन्त्रालयद्वारा आयोजित ‘आरोग्य पदयात्रा’ मा सहभागी कूटनीतिज्ञहरूले नेपालले विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न खोजेको आरोग्य र स्वस्थ जीवनशैलीप्रति ऐक्यबद्धता जनाएका छन्।

सहभागीहरूलाई बिहान हात्तीवन रिसोर्ट परिसरमा भेला गराई योग र पूर्वीय दर्शनमा आधारित ध्यानको महत्त्वबारे जानकारी दिइएको थियो। जीवन विज्ञानका प्रशिक्षक प्रतीक शर्माले राजदूतहरूलाई आसन, प्राणायाम र ध्यानका केही विधिहरूको प्रशिक्षण दिएका थिए। सोही क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले स्वागत मन्तव्य राख्दै नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा मनाउने निर्णय गरेको स्मरण गराए।

सचिव राईले नेपाललाई विश्वकै उत्कृष्ट ‘आरोग्य पर्यटकीय गन्तव्य’ का रूपमा विकास गर्ने सरकारको नीति रहेको जानकारी दिँदै सन् २०२७ लाई ‘नेपाली आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी भइरहेको बताए। यसका लागि विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा गैरआवासीय नेपालीहरूको सञ्जालमार्फत लगानी भित्र्याउन पहल गरिने उनको भनाइ थियो।

पदयात्रामा सहभागी नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहकले उपत्यकाकै प्राकृतिक डाँडामा गरिएको यात्रा सामान्य शारीरिक अभ्यास मात्र नभई मानसिक शान्ति प्रदान गर्ने खालको रहेको प्रतिक्रिया दिए। युनेस्को प्रतिनिधि जाको डु टोइटले नेपाली गीत सुन्दै प्राकृतिक थलोमा हिँड्ने क्रममा आफूले पूर्ण आरोग्यको अनुभूति गरिरहेको बताए। राष्ट्रसंघीय विकास नियोग (यूएनडीपी) की प्रतिनिधि क्योको योकोसुकाले स्वच्छ हावायुक्त पदमार्गको यात्रा, योग र ध्यानले आफूलाई उत्साहित तुल्याएको भन्दै आफ्ना देशवासीलाई आत्मसन्तुष्टिका लागि नेपाल घुम्नैपर्ने मुलुक भएको सन्देश पुर्याउने बताइन्।

बेलायती राजदूत रोबर्ट फेनले आरोग्य दिवसको नारामध्ये ‘लामो पैदलयात्राले श्वासप्रश्वासलाई लामो समय स्वस्थ राख्छ’ भन्ने मान्यताले आफू प्रभावित भएको बताए। उनले नेपाल पहिल्यैदेखि बेलायती नागरिकमाझ लोकप्रिय रहेको र नेपालको भौगोलिक तथा सांस्कृतिक विविधताप्रति बेलायतीहरू मोहित रहेको धारणा राखे।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आरोग्य पर्यटनमार्फत नेपालको ‘सफ्ट पावर’ कूटनीतिलाई अगाडि बढाउन खोजिएको बताए। पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसमा १३ देशका राजदूतहरूले सक्रिय सहभागिता जनाउनु कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। “योग, ध्यानजस्ता प्राकृतिक स्वास्थ्यलाभका पद्धतिहरूमार्फत नेपाललाई विश्वकै उत्कृष्ट आरोग्य गन्तव्य बनाउने लक्ष्य सरकारको छ,” प्रवक्ता पौडेलले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button