क्युबाली जनताको गम्भीर मानवीय सङ्कटप्रति ब्राजिल, मेक्सिको र स्पेनद्वारा गहिरो चिन्ता प्रकट, सहजीकरणका लागि आह्वान

म्याड्रिड — क्युबाली जनताले भोगिरहेको गम्भीर मानवीय सङ्कटप्रति ब्राजिल, मेक्सिको र स्पेन सरकारले गहिरो चिन्ता व्यक्त गरेका छन्। स्पेनी विदेश मन्त्रालयको वेबसाइटमा शनिबार जारी संयुक्त विज्ञप्तिमा तीनै देशले परिस्थितिलाई सहज बनाउन आवश्यक कदम चाल्न सम्बद्ध पक्षहरूलाई आग्रह गरेका हुन्।
विज्ञप्तिमा तीनै सरकारले जनताको जीवनस्तर थप खस्काउने वा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने कुनै पनि कार्यबाट बच्न सबै पक्षलाई आह्वान गरेका छन्। साथै, क्युबाली जनताको पीडा न्यूनीकरणका लागि आफूहरूले समन्वयात्मक ढङ्गले मानवीय सहायता वृद्धि गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
संयुक्त विज्ञप्तिमा ब्राजिल, स्पेन र मेक्सिकोले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लिखित भूभागीय अखण्डता, सार्वभौम समानता तथा विवादको शान्तिपूर्ण समाधानका सिद्धान्तहरूको सधैं पालना गर्नुपर्ने आवश्यकतालाई पनि दोहोर्याएका छन्। उनीहरूले मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र बहुपक्षीयताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घीय बडापत्रका सिद्धान्तअनुरूप इमान्दार र सम्मानजनक संवादको आह्वान गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “यस्तो संवादले वर्तमान परिस्थितिको दिगो समाधान खोज्न र क्युबाली जनता आफैंले पूर्ण स्वतन्त्रतापूर्वक आफ्नो भविष्यको निर्णय गर्न सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।”





