चीन र तुर्कमेनिस्तानबीच प्राकृतिक ग्याँस सहकार्य विस्तार गर्ने सहमति

बेइजिङ, – चीन र तुर्कमेनिस्तानबीच प्राकृतिक ग्याँस क्षेत्रमा सहकार्यको दायरा विस्तार गर्ने तथा व्यापार र लगानीको स्तर अभिवृद्धि गर्ने सहमति भएको छ। बुधबार बेइजिङमा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र तुर्कमेनिस्तानका राष्ट्रिय नेता एवम् हल्क मस्लाहतीका अध्यक्ष गुर्बानगुली बर्दिमुहामेदोवबीच यस सम्बन्धी महत्त्वपूर्ण छलफल भएको हो।

भेटमा चिनियाँ राष्ट्रपति सीले दुई पक्षबीच ग्याँस क्षेत्रमा मात्र नभई सम्पर्क, कृषि, कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र र दिगो ऊर्जा लगायतका गैर-संसाधन क्षेत्रमा पनि सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे।

चीनको ‘दुई सत्र’ हालै सम्पन्न भएको उल्लेख गर्दै राष्ट्रपति सीले त्यस क्रममा १५औं पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) को मस्यौदा स्वीकृत गरिएको जानकारी दिए। उनले यस योजनाको कार्यान्वयनले चीनलाई आधुनिक समाजवादी राष्ट्र निर्माणतर्फ अग्रसर हुन बलियो जग उपलब्ध गराउने र यसबाट विश्वका अन्य राष्ट्रहरू पनि लाभान्वित हुने बताए।

राष्ट्रपति सीले तुर्कमेनिस्तानले पछिल्लो ३५ वर्षमा आफ्नो राष्ट्रिय परिस्थिति अनुकूलको स्वतन्त्र विकास मार्ग अवलम्बन गरेको प्रशंसा गरे। उनले घोडा वर्षको सुरुवातमा चीन तुर्कमेनिस्तानसँग विकासका अवसर बाँड्न र चीन-तुर्कमेनिस्तान साझा भविष्यको समुदाय निर्माणलाई अगाडि बढाउन तत्पर रहेको बताए।

द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै नेताले आपसी सहयोगलाई चीन–तुर्कमेनिस्तान व्यापक रणनीतिक साझेदारीको मूल सार भएकोमा जोड दिए। राष्ट्रपति सीले अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै भए पनि चीन सधैं तुर्कमेनिस्तानको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको पक्षमा रहने र उसको स्थायी तटस्थताको नीतिलाई समर्थन गरिरहने प्रतिबद्धता व्यक्त गरे।

उनले दुवै पक्षले ‘बेल्ट एण्ड रोड’ पहल र तुर्कमेनिस्तानको विकास रणनीतिबीच तादात्म्यता कायम गर्न तीव्रता दिनुपर्नेमा जोड दिए। साथै, लुबान कार्यशाला, परम्परागत चिनियाँ औषधि केन्द्र तथा सांस्कृतिक केन्द्रहरू स्थापनाको प्रक्रियालाई पनि गति दिनुपर्ने बताए।

राष्ट्रपति सीले आतंकवाद, उग्रवाद र पृथकतावादजस्ता तीन शक्तिसँग दृढतापूर्वक सामना गर्न र दुवै देशको विकासका लागि सुरक्षित वातावरण तयार पार्न आह्वान गरे। विश्वव्यापी चुनौतीहरू बढ्दै गइरहेको सन्दर्भमा संयुक्त राष्ट्र संघको स्थिति र अख्तियारको रक्षा गर्दै वास्तविक बहुपक्षीयताको अभ्यास गर्न चीन तयार रहेको उनले बताए।

यसैगरी, दुवै पक्षले व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभमा केन्द्रित विश्वव्यापी शासन दर्शनलाई अवलम्बन गर्न तथा निष्पक्षता, न्याय, खुलापन र समावेशीकरणको सिद्धान्तसहित विश्वव्यापी शासन प्रणालीको रूपान्तरणमा अग्रसर हुनुपर्नेमा सहमति जनाए।

भेटमा तुर्कमेनिस्तानका राष्ट्रिय नेता बर्दिमुहामेदोवले चीनको सफल ‘दुई सत्र’ का लागि बधाई दिँदै त्यसले विभिन्न पहलहरूको विकासका लागि महत्त्वपूर्ण निर्णय र व्यवस्था गरेको बताए। चीनको समृद्धि र विकासले विश्वलाई नै लाभान्वित गरेको उल्लेख गर्दै उनले तुर्कमेनिस्तान–चीन सहकार्य दुवै देशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण र सकारात्मक कारक बनेको र यो दुई देशका जनताको दीर्घकालीन हितमा रहेको धारणा राखे।

उनले तुर्कमेनिस्तान सधैं एक चीन सिद्धान्तको पक्षमा रहने र चीनसँग विकास रणनीतिहरूको तादात्म्यता सुदृढ गर्न, ऊर्जा, व्यापार, सम्पर्क तथा अन्य क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्न तथा साझा विकास र समृद्धिका साथै सुरक्षा र स्थिरतालाई प्रवद्र्धन गर्न इच्छुक रहेको बताए।

तुर्कमेनिस्तानले उसको स्थायी तटस्थ स्थितिप्रति चीनले देखाएको समर्थनप्रति आभार व्यक्त गर्दै राष्ट्रपति सीद्वारा प्रस्तुत चार विश्वव्यापी पहलहरूको उच्च प्रशंसा गरेको छ। साथै, अन्तर्राष्ट्रिय मामिलामा चीनले निष्पक्ष अडान लिँदै आएको पनि उनले सराहना गरे।

बर्दिमुहामेदोवले संयुक्त राष्ट्र संघ र चीन–मध्य एसिया संयन्त्रजस्ता बहुपक्षीय मञ्चहरूमा चीनसँग समन्वय र सहकार्य सुदृढ गर्दै क्षेत्रीय तथा विश्वव्यापी शान्ति र स्थिरताको रक्षा गर्न तुर्कमेनिस्तान तयार रहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button