‘बाब अल-मान्देब बन्द गर्ने निर्णय भए कसैले खोल्न सक्दैन’
हुथी समूहको चेतावनी, विश्व व्यापारको प्रमुख जलमार्गमा थप सङ्कटको सङ्केत

साना, यमन — यमनको हुथी समूहले रणनीतिक महत्त्वको बाब अल-मान्देब जलसन्धि बन्द हुन सक्ने चेतावनी दिएको छ। हुथी अधिकारी हुसेन अल-इज्जीले शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै विश्वकै सबैभन्दा महत्त्वपूर्ण सामुद्रिक मार्गहरूमध्ये एकलाई प्रभावित पार्न सक्ने उपायहरूको सम्भावनाबारे उल्लेख गरेका छन्।
हुथी अधिकारी अल-इज्जीले भने, “यदि सानाले बाब अल-मान्देब बन्द गर्ने निर्णय गर्यो भने, कुनै पनि शक्तिले यसलाई पुनः खोल्न सक्ने छैन।” यमन र अफ्रिकाको सिङ क्षेत्रबीच अवस्थित बाब अल-मान्देब जलसन्धिले लाल सागरलाई एडेनको खाडी र हिन्द महासागरसँग जोड्ने एक महत्त्वपूर्ण ढुवानी करिडोर हो। ऊर्जा आपूर्तिसहित विश्व व्यापारको एक महत्त्वपूर्ण हिस्सा यही साँघुरो जलमार्ग हुँदै गुज्रन्छ।
हुथी अधिकारीले वासिङ्टन र यसका सहयोगीहरूलाई “शान्तिको बाटोमा बाधक सबै कार्य र नीतिहरूको अन्त्य गर्न” र यमनी जनताको वैध अधिकारको रूपमा आफूले व्याख्या गरेको विषयलाई सम्मान गर्न आग्रह गरेका छन्। यो चेतावनी इरानले शनिबार नै जारी अमेरिकी नौसैनिक नाकाबन्दीको प्रतिक्रियास्वरूप सामुद्रिक यातायातमा पुनः प्रतिबन्ध लगाउने निर्णय गरेपछि आएको हो। यसले पश्चिम एसियाको समग्र सामुद्रिक सुरक्षामा थप जटिलता र अनिश्चितता थपेको छ।





