७ बैशाख २०८३, सोमबार

गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्तको माग गर्दै जेनजी मुभमेन्टको चेतावनी

'७६ शहीदको बलिदानमाथि सस्तो राजनीति स्वीकार्य छैन'

काठमाडौं, वैशाख ७ — जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग औपचारिक माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी एक प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदै अनुसन्धानको प्रक्रिया अगाडि बढाउनु स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने र यसले छानबिनलाई प्रभावित पार्ने उल्लेख गरिएको छ।

वक्तव्यमा मन्त्रीको ओहदामा रहेर आफैंविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको भन्दै निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरिएको छ। मुभमेन्टले मन्त्री नियुक्त गर्ने र फेरि हटाउने विषयलाई कच्चा र अमर्यादित खेल नबनाउन बालेन्द्र शाह नेतृत्वको सरकारसँग आग्रह गरेको छ। क्याबिनेटमा कसलाई समावेश गर्ने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय भएको भन्दै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।

“यो कुनै साधारण सरकार होइन, यो ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो,” वक्तव्यमा भनिएको छ, “जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन।” मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै पनि किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी पनि दिएको छ। हाल सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा रहेका विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा व्यापारिक साझेदारी रहेको प्रमाण सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button