७ बैशाख २०८३, सोमबार

इरानद्वारा अमेरिका-इजरायलको ‘साहसिकता’ विरुद्ध व्यापक प्रतिरक्षाको सङ्कल्प

पाकिस्तानसँग टेलिफोन वार्तामा राष्ट्रपति पेजेस्कियनको चेतावनी

तेहरान — इरानी राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिका र इजरायलको कुनै पनि पुनरावृत्त ‘साहसिकता’ (एडभेन्चरिज्म) विरुद्ध व्यापक रूपमा आत्मरक्षा गर्न इरान दृढ सङ्कल्प रहेको बताएका छन्। आइतबार पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफसँग भएको टेलिफोन वार्ताका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

इरानी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार दुई नेताबीच क्षेत्रीय घटनाक्रम, इस्लामाबादमा जारी शान्ति वार्ता तथा दुई सातायता लागू भएको युद्धविरामसँग सम्बन्धित विषयहरूमा छलफल भएको थियो। पेजेस्कियनले अमेरिका र इजरायलले गर्न सक्ने कुनै पनि नयाँ साहसिक कदमले पश्चिम एसिया क्षेत्र र विश्वकै सुरक्षामा गम्भीर परिणाम निम्त्याउने चेतावनी दिए।

इरानी राष्ट्रपतिले शान्ति वार्ता र युद्धविराम अवधिभर अमेरिकाले निरन्तर आफ्ना प्रतिबद्धताहरू तोड्दै आएको आरोप लगाए। उनले इरानमाथि तथाकथित नौसैनिक नाकाबन्दी लगाउने ‘उत्तेजक र गैरकानुनी’ कार्यलाई युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन र संयुक्त राष्ट्रसङ्घीय बडापत्रविपरीतको कदम भन्दै निन्दा गरे । पेजेस्कियनले भने, “यस्ता कार्यहरू र अमेरिकी अधिकारीहरूको इरानप्रतिको धम्कीपूर्ण भाषणले मात्र वासिङ्टनको गम्भीरताप्रति तेहरानको शङ्कालाई थप बढाएको छ र अमेरिका पुरानै ढर्रा दोहोर्याउन तथा कूटनीतिलाई धोका दिन खोजिरहेको तथ्यलाई उजागर गरेको छ।”

पाकिस्तानको मध्यस्थता र छिमेकी मुलुकहरूसँग सहकार्यको अपिल

इरानी राष्ट्रपतिले असल छिमेकीपन र पारस्परिक सम्मानका सिद्धान्तहरूमा आधारित भई सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई कायम राख्न र सुधार गर्न इरान प्रतिबद्ध रहेकोमा जोड दिए। उनले हालैका अनुभवहरूलाई मध्यनजर गर्दै क्षेत्रीय तथा छिमेकी राष्ट्रहरूले सामूहिक सहकार्यको आधारमा क्षेत्रीय शान्ति र सुरक्षा सुनिश्चित गर्न र विशेषगरी अमेरिकाजस्ता बाह्य शक्तिहरूको ‘विनाशकारी’ हस्तक्षेपबाट टाढा रहन प्रयास गर्नुपर्ने आशा व्यक्त गरे ।

प्रतिक्रियामा पाकिस्तानी प्रधानमन्त्री सरिफले क्षेत्रमा द्वन्द्व अन्त्य गर्न र शान्ति स्थापनाका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे जानकारी गराए। उनले यस सन्दर्भमा क्षेत्रीय मुलुकहरूसँग हालै गरेको परामर्शबारे पनि इरानी राष्ट्रपतिलाई अवगत गराए ।

होर्मुज जलसन्धिमा तनाव चर्कियो: अमेरिकी जहाजद्वारा इरानी मालवाहक जफत, इरानी ड्रोनद्वारा जवाफी आक्रमण

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी सेनाले ओमानको खाडीमा नाकाबन्दी तोड्न खोजेको इरानी झन्डा बोकेको एउटा मालवाहक जहाजलाई रोकेर नियन्त्रणमा लिएको दाबी गरेका छन्। उनका अनुसार ‘टुस्का’ नामक उक्त जहाज करिब ९०० फिट लामो र विमानवाहक पोत जत्तिकै तौलको थियो। ट्रम्पले भने, “हाम्रो विनाशक जहाजले उनीहरूलाई रोक्न उचित चेतावनी दियो, तर इरानी चालक दलले अटेर गरेपछि हाम्रो नौसेनाले उनीहरूको इन्जिन कोठामा प्वाल पारेर जहाजलाई त्यहीँ रोक्यो। अहिले अमेरिकी मरिनले उक्त जहाजलाई नियन्त्रणमा लिएको छ।”

पछिल्लो समाचार विवरणहरूका अनुसार अमेरिकाले आफ्नो जहाज जफत गरेको प्रतिशोधमा इरानले अमेरिकी सैन्य जहाजहरूमाथि ड्रोन आक्रमण गरेको छ । इरानको अर्धसरकारी तस्निम समाचार संस्थाले जनाएअनुसार इरानी सशस्त्र बलको हताम अल-अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को ‘चाँडै नै जवाफ’ दिइने चेतावनी दिइसकेको छ । यसै क्रममा, इरानले पनि होर्मुज जलसन्धिलाई पूर्ण रूपमा अवरुद्ध गरेको र इरानी अनुमतिबिना सो क्षेत्रबाट गुज्रने कुनै पनि जहाज वा ट्याङ्करले प्रतिबन्धको सामना गर्नुपर्ने बताएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button