७ बैशाख २०८३, सोमबार

अमेरिकी सहायक विदेशमन्त्री कपुर काठमाडौंमा

काठमाडौं — अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर सोमबार बिहान काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेशमन्त्री कपुरले आजै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यद्यपि, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहसँगको भेटवार्ताको टुङ्गो भने अहिलेसम्म नलागेको स्रोतले जनाएको छ। अन्य भेटघाटबारे पनि खुलाइएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट मानिने कपुरले दक्षिण तथा मध्य एसिया मामिला हेर्ने गर्छन्। राष्ट्रपति ट्रम्पले तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई उक्त जिम्मेवारीमा नियुक्त गरेका थिए।

कपुरको जन्म भारतमा भएको हो। उनका बुबा भारतीय तथा आमा अमेरिकी मूलकी हुन्। उनी अमेरिकी नौसेना स्नातकोत्तर विद्यालयका प्राध्यापकसमेत रहिसकेका छन् र राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्ष (सन् २०२०–२१) मा विदेश विभागको नीति योजना टोलीमा दक्षिण एसियाली मामिला हेर्ने जिम्मेवारीमा कार्यरत थिए। उनी दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिन्छन् र उनले विशेषगरी भारत–पाकिस्तान सम्बन्ध, आतङ्कवाद तथा क्षेत्रीय सुरक्षाका विषयमा अनुसन्धान गरेका छन्। पाकिस्तानका कट्टर आलोचकका रूपमा परिचित कपुरको पछिल्लो समय इरान र अमेरिकाबीच वार्ता गराउन पाकिस्तानले गरेको मध्यस्थतामा समेत भूमिका रहेको चर्चा हुने गरेको छ।

वर्तमान सरकार गठनमा अमेरिकाको विशेष प्रभाव रहेको टिप्पणी भइरहेका बेला सहायक विदेशमन्त्री कपुरको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच बालेन नेतृत्वको सरकारले कूटनीतिक क्षेत्रमा चालेका कदमहरूले पनि चर्चा पाइरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button