गृहमन्त्री र बिचौलिया भट्टबीच पाँच वर्ष पुरानो सम्बन्ध सार्वजनिक, ‘हामी नेपाल’ बाटै भएको थियो सम्मान

काठमाडौं — गृहमन्त्री सुधन गुरुङ र हाल हिरासतमा रहेका बिचौलिया दीपक भट्टबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहेको पुष्टि हुने विवरण सार्वजनिक भएको छ। सन् २०२१ डिसेम्बर २१ मा ‘हामी नेपाल’ संस्थाले आयोजना गरेको साधारण सभामा भट्टलाई सम्मान गरिएको थियो, जसको तस्बिर अहिले सार्वजनिक भएको छ।
‘हामी नेपाल’ का संस्थापक संयोजक रहेका गुरुङ र बार्बरा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले संयुक्त रूपमा भट्टलाई उपहार र कदरपत्र हस्तान्तरण गरेको तस्बिर सार्वजनिक भएको हो। उक्त तस्बिरमा खैरो ज्याकेट लगाएर माइक समातेर उभिएका भट्ट र सोफामा मास्क लगाएर गुरुङसँगै बसेको देखिन्छ। उक्त कार्यक्रममा सहयोगी तथा दाताहरूलाई सम्मान गर्ने क्रममा भट्टलाई पनि सम्मानित गरिएको थियो।
गुरुङलाई भदौको ‘जेन जी’ आन्दोलनलाई हाइज्याक गरेको आरोप लाग्दै आएको छ। उनी ‘हामी नेपाल’ का संस्थापक संयोजक हुन्। सोही संस्थाले पाँच वर्षअघि भट्टलाई राजधानीमा सम्मान गरेको पाइएको छ। यसबीच, गुरुङले स्मार्ट माइक्रो फाइनान्सबाट २५ लाख रुपैयाँ बराबरको ‘निःशुल्क’ सेयर प्राप्त गरेको विवरण पनि सार्वजनिक भएको छ। यो सेयर सोही सम्मानको ‘बार्टर’ (साटफेर) त होइन भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
यसअघि गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित जग्गा प्रचलित हदबन्दीभन्दा झन्डै चार गुणा बढी देखिएको थियो। सुन, नगद र सेयर विवरणको स्रोतबारे आलोचना भएपछि उनले सामाजिक सञ्जालमा ‘गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो’ भनी लेखेका थिए।
यता, एकपछि अर्को विवादमा तानिएपछि गुरुङको सामाजिक संस्था ‘हामी नेपाल’ को वेबसाइट खुल्न छाडेको छ। आइतबार साँझ मात्रै गुरुङ र भट्टबीच कसिलो व्यापारिक सम्बन्ध रहेको थप विवरणहरू सार्वजनिक भएका छन्।





