७ बैशाख २०८३, सोमबार

बालेन सरकार गठनपछि नेपाल आएका पहिलो उच्चपदस्थ विदेशी पदाधिकारी, अमेरिकी सहायक विदेशमन्त्री कपुर काठमाडौंमा

काठमाडौं — मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर सोमबार बिहान काठमाडौं आइपुगेका छन्। उनी बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने पहिलो उच्चपदस्थ विदेशी अधिकारी हुन्।

टर्किस एयरलाइन्सको उडान नम्बर टिके ७२६ मार्फत इस्तानबुल हुँदै उनी आज बिहान सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। तीनदिने नेपाल भ्रमणका क्रममा उनी बत्तीसपुतलीस्थित होटल द्वारिकामा बास बस्नेछन्। पर्सि बुधबार बिहान सोही विमान सेवामार्फत उनी स्वदेश फर्कने कार्यतालिका रहेको छ।

प्रधानमन्त्रीसहित मन्त्रीहरूसँग भेटवार्ता गर्ने

भ्रमणका क्रममा सहायक विदेशमन्त्री कपुरले प्रधानमन्त्री बालेन्द्र शाह, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ। यद्यपि, भ्रमणको औपचारिक घोषणा नेपाल र अमेरिका दुवै पक्षबाट नभएको र भेटवार्ताको विस्तृत विवरण पनि सार्वजनिक नगरिएको अधिकारीहरूले जनाएका छन्।

कपुर अमेरिकी विदेश मन्त्रालयका दुई अन्य अधिकारीहरू सहित नेपाल आएका हुन्। उनले नेपाल–अमेरिका चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग पनि छलफल गर्ने तथा पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यसूची रहेको बताइएको छ।

डोनाल्ड लुको ठाउँमा नियुक्त, बंगलादेश भ्रमणपछि नेपाल आए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अक्टोबरमा दक्षिण एसियाली मामिलाका लामो समयदेखि जिम्मेवार रहेका डोनाल्ड लुको स्थानमा कपुरलाई नियुक्त गरेका थिए। कपुर यसअघि गत मार्चमा बंगलादेशको नयाँ सरकार गठन लगत्तै ढाका पुगेका थिए। उक्त भ्रमणका क्रममा उनले बंगलादेशका परराष्ट्रमन्त्री र अन्य मन्त्रीहरूसँग भेटवार्ता गरे पनि प्रधानमन्त्री तारिक रहमानलाई भने भेटेका थिएनन्।

भारतको नयाँदिल्लीमा जन्मिएका कपुर अमेरिकी नौसेना स्नातकोत्तर विद्यालयका पूर्वप्राध्यापक हुन् र उनी दक्षिण एसियाली सुरक्षा मामिलाका विज्ञका रूपमा परिचित छन्। उनले सन् २०२०–२१ मा ट्रम्प प्रशासनको पहिलो कार्यकालको अन्तिम वर्षमा विदेश मन्त्रालयको नीति योजना कर्मचारीका रूपमा दक्षिण एसियाली मामिलाको जिम्मेवारी सम्हालेका थिए।

एमसीसी, व्यापार, लगानी र क्षेत्रीय सुरक्षा प्रमुख एजेन्डा

कूटनीतिक स्रोतहरूका अनुसार अमेरिकी पक्षले नेपालमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) कम्प्याक्टको कार्यान्वयनलाई तीव्रता दिने, अमेरिकी कम्पनीहरूको लगानीलाई सहज बनाउने, कोटिभिटी नेपाल र कोकाकोला जस्ता कम्पनीहरूसँग सम्बन्धित कर विवादहरूको समाधान गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखेको छ। यसका साथै नेपालमा तिब्बती शरणार्थीहरूको अधिकार संरक्षण, स्टारलिंक इन्टरनेट सेवा विस्तार, अमेरिका–नेपाल व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) लाई अन्य निर्यातयोग्य वस्तुमा विस्तार गर्ने र मेटलाइफको पुनर्बीमासम्बन्धी विषय पनि अमेरिकी चासोका रूपमा रहेका छन्।

कपुरले यसअघि अमेरिकी संसदको विदेश मामिला समितिमा दिएको बयानमा नेपाल भारत र चीनबीचको संवेदनशील भूराजनीतिक स्थानमा रहेको र दक्षिण एसियामा कुनै एक शक्तिको प्रभुत्व रोक्नु अमेरिकी उद्देश्य रहेको बताएका थिए। साथै, उनले यस क्षेत्रमा ‘ऋणबाट प्रभावित रणनीति’ ले निम्त्याउने जोखिमप्रति सचेत गराउँदै यसलाई रोक्नुपर्ने धारणा राखेका थिए, जसलाई चीनको ऋण नीतिप्रतिको असन्तुष्टिका रूपमा बुझिएको छ।

यसअघि डोनाल्ड लुले नेपालमा एमसीसी पारित गराउन पटकपटक नेपाल भ्रमण गर्दै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको निवासमै पुगेर भेटवार्ता गर्ने गरेका थिए। कपुरको यो भ्रमणलाई पनि नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने अमेरिकी चासोको सङ्केतका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button