७ बैशाख २०८३, सोमबार

‘बिचौलिया पक्राउको जस नयाँ सरकारलाई होइन, मिडियाको दबाब र पुरानै प्रक्रियाको परिणाम हो’: वरिष्ठ पत्रकार किशोर श्रेष्ठ

काठमाडौं — वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पछिल्लो समय बिचौलिया तथा भ्रष्टाचारीविरुद्ध भइरहेका कारबाहीको श्रेय वर्तमान सरकारलाई मात्र दिन नमिल्ने र यो पुरानै प्रक्रियाको निरन्तरता भएको टिप्पणी गरेका छन्। उनले बिचौलिया दीपक भट्टमाथिको अनुसन्धानको फाइल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा तामेलीमा राखिएको र पछि सुशीला कार्की नेतृत्वको सरकारका अर्थमन्त्री रामेश्वर खनालको पहलमा पुनः ब्युँताइएको तथ्य सार्वजनिक गरेका छन्।

श्रेष्ठका अनुसार सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशक रहेका बेला सुमन दाहाललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासमै बोलाएर हप्कीदप्की गरी दीपक भट्टको फाइल तामेलीमा राख्न लगाएका थिए। पछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि अर्थमन्त्री रामेश्वर खनालको सक्रियतामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग र आन्तरिक राजस्व विभागको संयुक्त टोली गठन गरी सो फाइललाई पुनः सक्रिय बनाइएको थियो।

श्रेष्ठले थप खुलासा गर्दै भनेका छन्, “यदि रामेश्वर अर्थमन्त्री हुन्थेनन् र सुशीला कार्की बेलायत बस्ने छोरा प्रशान्त सुवेदी र बुहारी समीक्षा भट्टमार्फत आएको पारिवारिक दबाब–प्रभावमा लत्याकलुतुक नगरेकी भए गजेन्द्र ठाकुरलाई बिचौलियाको घाँटी समात्ने आँट पुग्ने नै थिएन।” ठाकुरलाई सामाजिक सञ्जालमा प्रतिबन्ध नलगाउन भद्र सुझाव दिएको भन्दै सञ्चार मन्त्रालयबाट मिल्काएर सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशकमा हुत्याइएको थियो।

उनले जनआस्था साप्ताहिकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेलगत्तै न्युज २४ को ‘पावर न्युज’ कार्यक्रममा टेकनारायण भट्टराईसँगको अन्तर्वार्ताका क्रममा आफूले भनेको स्मरण गराए— “प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो। नयाँ सरकार बनेको हप्ता दिनमै प्रधानमन्त्री, मन्त्री, सरकार र सचिव हेरफेर गर्न सक्ने ल्याकत भएका अर्बपति केही ठूला बिचौलिया पक्राउ परेको देख्नु नै हुनेछ।”

गृहमन्त्रीको प्रयास र मिडियाको दबाब

श्रेष्ठका भनाइमा वर्तमान गृहमन्त्री सुधन गुरुङले यी गिरफ्तारी रोकाउन कम्ती बल गरेका थिएनन्, तर प्रक्रियामा गइसकेको काम रोकिनसक्ने अवस्था नै थिएन। त्यसमाथि मिडियाले सो अवधिमा धेरै सूचना सार्वजनिक गरेर प्रक्रिया नरोक्न दबाब सिर्जना गरिसकेको थियो।

उनले कार्की सरकारले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेर दीपक भट्टहरूलाई समातेर जोखिम मोल्न नचाहेको तर खबरदारीको हदसम्मको परिस्थिति मिडियाले नै सिर्जना गरेको दाबी गरे। श्रेष्ठका अनुसार यसबीच खस्किएको छवि सूचना सम्प्रेषणमा क्रमभङ्गतामार्फत सुधार्न नेपाली मिडियाले प्रयास गरिरहेको छ।

बालेन सरकारसामु अवसर र चुनौती

वरिष्ठ पत्रकार श्रेष्ठले सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको मूलमन्त्रसहित अप्रत्यासित जनमत हासिल गरेको बालेन सरकारसामु अब आफैभित्रका रोगको निदान गर्दै बोली र व्यवहारमा तालमेल देखाउने अवसर रहेको औंल्याएका छन्। उनले भने, “इमानका साथ काम गरौं, गरेको कामको मात्रै जस लिऊँ। यात्रा लामो छ। परीक्षामा खरो उत्रनु छ। अझै देशवासीको मन जितिराख्नु छ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button