७ बैशाख २०८३, सोमबार

गृहमन्त्री गुरुङद्वारा सेयर विवादमा सार्वजनिक स्पष्टीकरण, ‘हल्ला धेरै छन्, तथ्य बुझ्न जरुरी छ’

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले पछिल्ला दिनहरूमा आफ्नो नाम जोडिएर आएका सेयर कारोबारसम्बन्धी विभिन्न आरोप तथा चर्चाका सन्दर्भमा सोमबार सार्वजनिक स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै उनले आफूमाथि लागेका आरोपहरूको तथ्यगत रूपमा खण्डन गरेका हुन्।

गृहमन्त्री गुरुङले आफ्नो वक्तव्यको सुरुमै भनेका छन्, “पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढङ्गले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ।”

‘२५ लाखको सेयर लुकाइएको’ भन्ने आरोपप्रति: वर्गीकरणको विषय

गृहमन्त्री गुरुङले ‘२५ लाख रुपैयाँको सेयर लुकाइएको’ भन्ने आरोपप्रति स्पष्ट पार्दै सबै सेयर एउटै प्रकृतिका नहुने र धितोपत्र बजारमा कारोबार हुने सेयरहरू अन्तर्गत नै २ करोडभन्दा बढीको लगानी आफूले सम्पत्ति विवरणमै सार्वजनिक गरिसकेको बताए। उनले भने, “मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो। सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।”

लगानीको स्रोत: ऋण र बैंकिङ च्यानलको विवरण

मन्त्री हुनुअघि सेयर खरिद गरिएको भन्ने आरोपमा गुरुङले सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो भन्दै प्रश्न गरे। उनले सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको र बैंकबाट गएको पैसाको पूर्ण हिसाब रहेको दाबी गरे। “बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने? कहाँ लुकाउने?” उनको प्रश्न थियो।

लगानीको स्रोतबारे उनले आफूले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को रहेको बताए, जुन अभिलेखमा रहेको छ। उनका अनुसार उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत नै आएको र सोही रकम लगानीमा प्रयोग गरिएको हो। “अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,” उनले भने।

‘विवादित व्यक्तिसँग साझेदारी’ र ‘हितको द्वन्द्व’ को आरोपप्रति खण्डन

‘विवादित व्यक्तिसँग साझेदारी’ गरेको आरोपप्रति गृहमन्त्री गुरुङले एउटै कम्पनीमा सयौं-हजारौं सेयर होल्डर हुने र सेयर किन्नुलाई सबैसँग साझेदारी गर्नु भन्न नमिल्ने तर्क गरे। उनले भने, “यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त? प्रश्न सरल छ, सेयर होल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु?”

‘हितको द्वन्द्व’ (कन्फ्लिक्ट अफ इन्टरेस्ट) को आरोपबारे उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग भएको र सोही निकायले प्रक्रियाअनुसार विषय हेरिरहेको स्पष्ट पारे। “यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन। यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन,” उनले भने।

‘पृष्ठभूमि नजाँची लगानी’ र ‘प्रतिक्रिया नदिनु’ को विषयमा धारणा

‘पृष्ठभूमि नजाँची लगानी’ गरेको भन्ने आरोपप्रति गुरुङले व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा नहुने र हरेक लगानीमा जोखिम रहने बताए। “पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो,” उनको भनाइ थियो। यस्तै, आफूले प्रतिक्रिया नदिएको भन्दै आलोचना भएको सन्दर्भमा उनले कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने र हल्ला छिटो फैलिए पनि सत्य प्रमाणसहित मात्र आउने धारणा राखे।

‘प्रमाणमा उभिने’ प्रतिबद्धता

अन्त्यमा गृहमन्त्री गुरुङले आरोप र सत्य एउटै कुरा नहुने र निर्णय भावनाले नभई प्रमाणका आधारमा हुनुपर्ने बताए। उनले भने, “तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु। सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button