जापानको सान्रिकु तट नजिक ७.५ रेक्टर स्केलको भूकम्प, इवाते र आओमोरीमा सुनामी लहर पर्यवेक्षण

टोकियो — जापानको उत्तरपूर्वी क्षेत्रस्थित सान्रिकु तट नजिक सोमबार अपराह्न ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरमा इवाते र आओमोरी प्रान्तहरूमा सुनामीका लहरहरू पर्यवेक्षण गरिएका छन्। जापानी मौसम विज्ञान निकाय (जेएमए) का अनुसार स्थानीय समय अपराह्न ४:५३ बजे गएको यो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको केन्द्रविन्दु ३९.८ डिग्री उत्तरी अक्षांश र १४३.२ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ।
आओमोरी प्रान्तका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा जापानी भूकम्पीय मापन (सिस्मिक स्केल) को ७ मध्ये ‘अपर ५’ को तीव्रता मापन गरिएको मौसम विज्ञान निकायले जनाएको छ।
भूकम्पपश्चात् इवाते प्रान्तस्थित कुजी बन्दरगाहमा ८० सेन्टिमिटर (करिब २.६ फिट) अग्लो सुनामी लहर रेकर्ड गरिएको छ। यसैबीच, अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाहरूलाई तत्काल उच्च स्थानमा जान आग्रह गरेका छन्।
आणविक प्लान्टमा कुनै असामान्यता नभएको प्रारम्भिक जानकारी
भूकम्प प्रभावित आओमोरी र मियागी प्रान्तहरूमा रहेका आणविक प्लान्टहरूमा हालसम्म कुनै असामान्यता नदेखिएको सञ्चालक कम्पनीहरूले जनाएका छन्। त्यसैगरी, फुकुसिमा दाइइची र दाइनी आणविक प्लान्टहरूमा पनि कुनै नयाँ समस्या पहिचान नभएको जानकारी दिइएको छ।
प्रशान्त महासागरमा आएको यो भूकम्पले सन् २०११ को विनाशकारी भूकम्प र सुनामीको स्मृति ताजा गराएको छ। यद्यपि, हालसम्म ठूलो क्षति वा हताहतीको विवरण प्राप्त भइसकेको छैन। प्रभावित क्षेत्रमा स्थिति अनुगमन भइरहेको र थप जानकारी आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्।





