चीनको आणविक नीतिले विश्वलाई स्थिरता र निश्चितता प्रदान गरेको छ: प्रवक्ता गुओ

बेइजिङ — चीनले अवलम्बन गर्दै आएको आणविक नीतिले विश्वलाई स्थिरता र निश्चितता प्रदान गरेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले सोमबार बताएका छन्।
राजधानी बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा आगामी मे ११ देखि २९ सम्म न्युयोर्कमा हुने आणविक अप्रसार सन्धि (एनपीटी) को पक्ष राष्ट्रहरूको एघारौं पुनरावलोकन सम्मेलनसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै प्रवक्ता गुओले उक्त धारणा राखेका हुन्।
प्रवक्ता गुओले चीनले पेस गरेको प्रतिवेदनले चिनियाँ आणविक नीतिको उच्च जिम्मेवारी र पारदर्शितालाई पुनः पुष्टि गरेको बताए। उनले चीनले रक्षात्मक आणविक रणनीति र ‘पहिलो प्रयोग नगर्ने’ नीति अवलम्बन गर्दै आएको स्पष्ट पारे।
“चीनले आफ्नो आणविक क्षमतालाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक न्यूनतम स्तरमा सीमित राखेको छ र कुनै पनि देशसँग हतियार होडमा सामेल हुने कुनै इरादा राख्दैन,” प्रवक्ता गुओले भने, “यस नीतिले विश्वलाई स्थिरता र निश्चितता प्रदान गरेको छ।”





