वीर आत्माको स्वदेश फिर्ती: चीनद्वारा पहिलोपटक वाई-२०बी विमानमार्फत कोरियाली युद्धका शहीदहरूको अवशेष भित्र्याइँदै

झेङ्झाउ (चीन) — चीनले कोरियाली युद्ध (सन् १९५०–१९५३) का क्रममा शहीद भएका आफ्ना सैनिकहरूको १३औं ब्याचको अवशेष स्वदेश फिर्ता ल्याउन सोमबार गणतन्त्र कोरिया (दक्षिण कोरिया) तर्फ ठूलो सैन्य यातायात विमान वाई-२०बी पठाएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाले शहीदहरूको अवशेष स्वदेश भित्त्याउन पहिलोपटक वाई-२०बी विमान परिचालन गरेको हो।
आधिकारिक विवरणअनुसार अमेरिकी आक्रमणको प्रतिरोध गर्न तथा कोरियालाई सहायता गर्ने युद्धका क्रममा चीनले कूल २९ लाख जनस्वयंसेवक सैनिक (चाइनिज पिपल्स भोलन्टियर्स) प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) को सहायताका लागि युद्धक्षेत्रमा पठाएको थियो, जसमध्ये ३ लाख ६० हजारभन्दा बढीले वीरगति प्राप्त गरेका वा घाइते भएका थिए।
चिनियाँ वायुसेनाले यस अवसरका लागि एक विशेष स्वागत चिह्न (टास्क आइडेन्टिफिकेसन) समेत सार्वजनिक गरेको छ। उक्त चिह्नमा जनस्वयंसेवक सैनिकको मूर्ति, जनस्वयंसेवकको छातीमा लगाइने ब्याज, वाई-२०बी र चारवटा जे-२० लडाकू विमानको संरचना, नयाँ युगका सैनिक तथा शान्तिको प्रतीक परेवाका चित्रहरू समावेश गरिएका छन्। साथै, चिह्नमा ‘वीर १९५०’ र ‘घर फिर्ती २०२६’ जस्ता भावपूर्ण शब्दहरू अङ्कित गरिएका छन्, जसले वीरहरूको स्वदेश फिर्ती र रक्त सम्बन्धको निरन्तरताको भावना प्रकट गर्दछ।
यसका साथै, अवशेष बोकेको वाई-२०बी विमान चिनियाँ हवाई क्षेत्रमा पुनः प्रवेश गरेपछि वायुसेनाले चारवटा जे-२० स्टिल्थ लडाकू विमानद्वारा उक्त विमानलाई सम्मानपूर्वक एस्कर्ट (सुरक्षात्मक सामुहिक उडान) गराउने कार्यक्रम रहेको छ। सन् २०१५ देखि चिनियाँ वायुसेनाले हरेक वर्ष कोरियाबाट शहीदहरूको अवशेष फिर्ता ल्याउने अभियानलाई निरन्तरता दिँदै आएको छ। सन् २०२० देखि स्वदेशी ठूला यातायात विमान वाई-२० यस कार्यमा प्रयोग हुँदै आएकोमा यो वर्ष भने स्तरोन्नत वाई-२०बी पहिलोपटक खटाइएको हो।





