त्रिभुवन विमानस्थल आजदेखि राति ११:४५ देखि बिहान ६:३० सम्म दैनिक बन्द हुने

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक सञ्चालन समय आज रातिदेखि परिवर्तन हुने भएको छ। विमानस्थल अब प्रत्येक दिन राति ११:४५ बजे बन्द भई बिहान ६:३० बजे मात्र खुल्ने भएको हो।
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार यसअघि सोमबारसम्म विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालनमा रहँदै आएको थियो। पुरानो व्यवस्थाअनुसार विमानस्थल राति १ बजेदेखि बिहान ६ बजेसम्म करिब ५ घण्टा मात्रै बन्द हुने गरेकोमा नयाँ व्यवस्थाले दैनिक बन्दको समय बढाइएको छ।
विमानस्थलले जारी गरेको नोटिस टु एयरमेन (नोटाम) अनुसार धावनमार्ग नजिकै ट्याक्सीवे ब्राभो, चार्ली, क्युबिक र रोमियो क्षेत्रमा निर्माण कार्य गरिनेछ। यो अवधिभर विमानस्थल सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ, जसका कारण विभिन्न कारणले ढिला हुने उडानहरू प्रभावित हुनेछन्।
यो नयाँ व्यवस्था ७ वैशाख (२० अप्रिल) राति ११:४५ बजेदेखि लागू भई जेठ ४ गते बिहान ६:३० बजेसम्म कायम रहनेछ। हरेक दिन सोही समयावधिमा उडान बन्द रहने भएकाले खाडी मुलुक, भारत तथा टर्कीका उडानहरूको समय तालिका समेत अघिपछि सारिएको छ।
यसअघि पनि पूर्वाधार विस्तारकै कारण विमानस्थलमा विभिन्न चरणमा उडान समय सीमित गरिएको थियो। माघ २०८१ मा पहिलोपटक राति १० बजेदेखि उडान बन्द गर्दै निर्माण कार्य सुरु गरिएको थियो। पछि क्रमशः समय घटाउँदै राति ११ बजेपछि बन्द गर्ने व्यवस्था लागू गरिएको थियो। सोमबारदेखि लागू हुन लागेको यो निर्णय तेस्रो पटक हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२६ पछि वार्षिक झन्डै एक करोड यात्रुलाई सेवा दिने लक्ष्यसहित पूर्वाधार विस्तारका काम तीव्र रूपमा अघि बढिरहेका छन्। नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सीवे तथा ह्याङ्गर निर्माण कार्य भइरहेको छ।
सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार धावनमार्गसँग सम्बन्धित जटिल निर्माण कार्य सम्पन्न भएसँगै बन्द समय क्रमशः घटाइएको थियो। हाल विमानस्थलभित्र तीनवटा आयोजना सञ्चालनमा छन्।
निमित्त महाप्रबन्धक सिटौलाका अनुसार हाल काठमाडौं विमानस्थलमा दैनिक १० हजार हाराहारी आन्तरिक र १२ हजार हाराहारी अन्तर्राष्ट्रियतर्फ यात्रु ओहोरदोहोर गर्छन्।





