७ बैशाख २०८३, सोमबार

बिनाअनुमति सिंहदरबार प्रवेश गर्ने सशस्त्रका तीन अधिकृतलाई स्पष्टीकरण सोधियो

काठमाडौं — सशस्त्र प्रहरी बलले आफ्ना तीन जना अधिकृतलाई बिनाअनुमति सिंहदरबार प्रवेश गरेको आरोपमा स्पष्टीकरण सोधेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले दुई जना वरिष्ठ उपरीक्षक (एसएसपी) र एक जना उपरीक्षक (एसपी) सँग लिखित स्पष्टीकरण माग गरेको हो।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार एसएसपी नेत्र कार्की, एसएसपी राजेश उप्रेती र एक जना एसपीलाई स्पष्टीकरण सोधिएको छ। “स्पष्टीकरण सोधेका छौं, जवाफ आएपछि थप प्रक्रिया अघि बढ्छ,” ती अधिकृतले भने।

प्रहरी हेडक्वार्टरलाई विवरण माग

यसै सन्दर्भमा सशस्त्र प्रहरी प्रधान कार्यालयले दैनिक सिंहदरबार प्रवेश गर्ने आफ्ना अधिकृतहरूको विवरण उपलब्ध गराउन नेपाल प्रहरी हेडक्वार्टरलाई अनुरोध गरेको छ। सिंहदरबारमा प्रहरीका एसपी नेतृत्वको सुरक्षा गण रहेको र सो गणले सिंहदरबार प्रवेश गर्नेहरूको विवरण राख्ने गरेको जनाइएको छ।

गत वैशाख ४ गते नै प्रहरीलाई पत्राचार गरी आफ्ना कर्मचारी सिंहदरबार प्रवेश गरेको विवरण उपलब्ध गराउन अनुरोध गरिएको ती अधिकृतले जानकारी दिए। “अनुमति बिना भेटघाट गरेको पाइए नियमावली अनुसार कारबाही हुन्छ,” उनले भने।

नियमावलीको व्यवस्था

सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार आचरण विपरीतको काम गर्न पाइँदैन। प्रधान कार्यालयको अनुमति बिना र कार्यालयको कामको सिलसिला बाहेक भेटघाट गरेमा विभागीय कारबाही हुने व्यवस्था नियमावलीले गरेको छ।

नियमअनुसार सशस्त्र प्रहरीका कर्मचारीले राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी र कूटनीतिक व्यक्तिहरू भेट्नुपरे आन्तरिक कार्यविधि अनिवार्य पालना गर्नुपर्छ। पछिल्लो समय सशस्त्रका अधिकृतहरू बाह्य भेटघाटका लागि सिंहदरबार प्रवेश गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी हेडक्वार्टरले यस्तो कदम चालेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button