७ बैशाख २०८३, सोमबार

भारतको ‘ज्ञान भारतम’ अभियान: सोरेङ जिल्लामा पाण्डुलिपि संरक्षणको तयारी तीव्र

सोरेङ (भारत) — भारत सरकारको संस्कृति मन्त्रालयले सुरु गरेको प्रमुख पहल ‘ज्ञान भारतम मिसन’ अन्तर्गत सोरेङ जिल्लामा जिल्लास्तरीय स्थायी समितिको बैठक जिल्लापाल धिरज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको छ। केन्द्रीय बजेट २०२५–२६ मा घोषणा गरिएको यो अभियानले विकसित भारत २०४७ को परिकल्पना अनुरूप भारतको प्राचीन पाण्डुलिपिमा निहित विशाल ज्ञान सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

बैठकमा जिल्लापाल सुवेदीले सोरेङ जिल्ला यस क्षेत्रमा उल्लेखनीय सम्भावना बोकेको बताउँदै समिति सदस्यहरूलाई आवश्यक अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिए। अपर जिल्लापाल डीआर बिष्टले यस अभियानको दृष्टिकोणबारे प्रकाश पार्दै भारतको पाण्डुलिपि सम्पदाको संरक्षण, डिजिटाइजेसन र प्रसारणमा केन्द्रित रही भावी पुस्ताका लागि परम्परागत ज्ञान प्रणालीलाई पुनर्जीवित गर्नु नै यसको मूल उद्देश्य रहेको बताए।

पाण्डुलिपि संरक्षणको विशाल योजना

समितिले यस अभियानका प्रमुख उद्देश्यहरूमाथि छलफल गरेको छ, जस अन्तर्गत देशभर एक करोडभन्दा बढी पाण्डुलिपिहरूको सर्वेक्षण र दस्तावेजीकरण गर्ने, दुर्लभ तथा जीर्ण पाठहरूको दीर्घकालीन संरक्षण सुनिश्चित गर्ने, राष्ट्रिय डिजिटल भण्डार (रिपोजिटरी) स्थापना गर्ने तथा परम्परागत ज्ञान प्रणालीमाथि अनुसन्धान र जनचेतना अभिवृद्धि गर्ने कार्यहरू रहेका छन्।

बैठकमा जानकारी दिइए अनुसार पाण्डुलिपि अन्तर्गत ताडपत्र, कागज, बोक्रा, कपडा वा धातुमा हस्तलिखित दस्तावेजहरू पर्दछन्, जुन कम्तीमा ७५ वर्ष पुरानो र महत्त्वपूर्ण ऐतिहासिक, वैज्ञानिक, साहित्यिक वा सांस्कृतिक मूल्यका हुनुपर्छ। भारतसँग विश्वकै सबैभन्दा ठूलो पाण्डुलिपि सङ्ग्रह रहेको र यसमा आयुर्वेद, गणित, खगोलशास्त्र र दर्शन जस्ता विविध विषयहरू समेटिएका छन्।

प्रविधिको प्रयोग र संस्थागत संरचना

बैठकले यस अभियानका प्रमुख घटकहरूको समीक्षा गरेको छ, जसमा सर्वेक्षण र सूचीकरण, संरक्षण र क्षमता विकास, प्रविधिमा आधारित डिजिटाइजेसन, भाषिक अनुवाद तथा अनुसन्धान र प्रचारप्रसारका गतिविधिहरू समावेश छन्। एआईमा आधारित ट्रान्सक्रिप्सन, प्रामाणिकताका लागि ब्लकचेन प्रविधि र क्लाउडमा आधारित भण्डारण प्रणाली जस्ता उन्नत प्रविधिहरूको प्रयोगमा जोड दिइएको छ। साथै, क्लस्टर केन्द्र र स्वतन्त्र केन्द्रहरूको स्थापना तथा राष्ट्रिय पाण्डुलिपि मिसनको पुनरुत्थान सहितको संस्थागत ढाँचामा पनि छलफल भएको छ।

अपर जिल्लापालले जिल्लास्तरमा यस अभियानको महत्त्वलाई जोड दिँदै विशेषगरी मठमन्दिर, घरपरिवार र स्थानीय विद्वानहरूका बीच रहेका पाण्डुलिपिहरूको पहिचान गर्नुपर्नेमा जोड दिए। लेप्चा र नेपाली परम्परा सहित स्थानीय भाषा र लिपिहरूको प्रवर्द्धन गर्नुका साथै सामुदायिक सहभागिता र जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा पनि जोड दिइएको छ।

जनगणना २०२७ को समीक्षा बैठक सम्पन्न

यसैबीच, जिल्लापाल सुवेदीले अपर जिल्लापाल र अनुविभागीय अधिकारीको उपस्थितिमा सोरेङ जिल्लाका खण्ड विकास अधिकारीहरूसँग जनगणना २०२७ सम्बन्धी समीक्षा बैठक पनि सम्पन्न गरेका छन्। बैठकको समापनमा ‘ज्ञान भारतम मिसन’ ले आधुनिक प्रविधिको सहायताले भारतको बौद्धिक र सांस्कृतिक सम्पदालाई वैश्विक पहुँचयोग्य बनाउँदै संरक्षण गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको पुनः पुष्टि गरियो। यस पहलले अनुसन्धान, शिक्षा र सांस्कृतिक पर्यटनलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रको समृद्ध सम्पदाप्रति गौरवको भावना जागृत गर्ने अपेक्षा गरिएको छ।

बैठकमा अपर जिल्लापाल डीआर बिष्ट, अनुविभागीय अधिकारी साक्चुम लेप्चा, विभिन्न खण्ड विकास अधिकारीहरू, जिल्ला योजना अधिकारी कुमार सुब्बा तथा जिल्ला सूचना अधिकारी डा. एरोन ई लेप्चा लगायतको उपस्थिति रहेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button