सी-मोहम्मद वार्ता: राष्ट्रपति सीद्वारा मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान, ‘होर्मुज जलसन्धि खुला रहनुपर्छ’ मा जोड

बेइजिङ — चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्यपूर्व क्षेत्रमा तत्काल र पूर्ण युद्धविरामको आह्वान गर्दै होर्मुज जलसन्धिमा नियमित आवागमन कायम रहनुपर्नेमा जोड दिएका छन्। साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग सोमबार अपराह्न भएको टेलिफोन वार्ताका क्रममा उनले यस्तो धारणा राखेका हुन् ।
चिनियाँ राष्ट्रपति कार्यालयका अनुसार युवराज मोहम्मदको आग्रहमा भएको उक्त वार्तामा दुई नेताबीच द्विपक्षीय सम्बन्ध र वर्तमान क्षेत्रीय तनावका विषयमा गहन छलफल भएको थियो।
दशकको उपलब्धि र भावी सहकार्यको खाका
वार्ताको सुरुमा राष्ट्रपति सीले सन् २०२६ लाई चीन र साउदी अरबबीच ‘व्यापक रणनीतिक साझेदारी’ स्थापना भएको दश वर्ष पुगेको सन्दर्भ कोट्याउँदै यसलाई सम्बन्धलाई थप गहिरो बनाउने अवसरका रूपमा लिनुपर्ने बताए। उनले भने, “चीनले साउदी अरबसँगको सम्बन्धलाई उच्च महत्त्व दिन्छ र सधैं आपसी सम्मान, समान व्यवहार तथा पारस्परिक लाभको सिद्धान्तमा अडिग रहेको छ।” राष्ट्रपति सीले आगामी दिनमा दुई देशबीच रणनीतिक विश्वास अभिवृद्धि गर्न, व्यावहारिक सहकार्यलाई सुदृढ बनाउन र सबै तहमा आदानप्रदान विस्तार गर्न चीन इच्छुक रहेको बताए। उनले यो सम्बन्धलाई चीन र अरब राष्ट्रहरूबीचको सम्बन्धको नमुनाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
‘होर्मुजको अवरोध कसैको हितमा छैन’
विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने होर्मुज जलसन्धि वरपरको बढ्दो तनावबीच राष्ट्रपति सीले चीनको स्पष्ट धारणा राखे। उनले भने, “होर्मुज जलसन्धिमा सामान्य आवागमन कायम रहनुपर्छ। यो क्षेत्रीय राष्ट्र र समग्र अन्तर्राष्ट्रिय समुदायको साझा हितमा छ।” उनले क्षेत्रीय मुलुकहरूले आफ्नो भाग्य र भविष्यको निर्णय गर्ने अधिकार आफ्नै हातमा राख्नुपर्ने र छिमेकीपन, विकास, सुरक्षा र सहकार्यमा आधारित साझा घर निर्माण गर्नुपर्ने धारणा राखे ।
यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीले पनि इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको वार्तामा यही धारणा दोहोर्याउँदै जलसन्धिमा अवरोधले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा गम्भीर असर पार्ने बताइसकेका छन् ।
साउदीको प्रतिक्रिया: ‘चीन जिम्मेवार विश्वशक्ति’
प्रतिक्रियामा साउदी युवराज मोहम्मदले साउदी-चीन सम्बन्धलाई ‘रणनीतिक’ को सङ्ज्ञा दिँदै यो सम्बन्ध आफ्नो देशका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। उनले हालको मध्यपूर्व युद्धले खाडी क्षेत्रको सुरक्षामा गम्भीर आघात पुर्याएको र विश्वव्यापी ऊर्जा आपूर्ति तथा अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको उल्लेख गरे। युवराज मोहम्मदले भने, “साउदी अरब वार्ताको माध्यमबाट मतभेद समाधान गर्न प्रतिबद्ध छ र स्थितिलाई थप जटिल हुनबाट रोक्न चाहन्छ।” उनले चीनलाई ‘जिम्मेवार विश्वशक्ति’ भन्दै सधैं निष्पक्ष अडान राख्ने र मध्यपूर्वी मुलुकहरूबीच सौहार्दता र सहकार्यको पक्षमा उभिने बताए ।
युवराज मोहम्मदले साउदी अरब चीनसँगको समन्वय र सहकार्यलाई अझ बलियो बनाउन इच्छुक रहेको उल्लेख गर्दै भने, “हामी युद्धविरामको अवस्था कायम राख्न, पुनः द्वन्द्व सुरु हुन नदिन र होर्मुज जलसन्धिको सुरक्षा तथा स्वतन्त्रताको प्रत्याभूति गर्न चीनसँग मिलेर काम गर्न चाहन्छौं।” यसअघि नै चीन र साउदी अरबले व्यापक रणनीतिक साझेदारीको ढाँचाभित्र ऊर्जा सुरक्षा र क्षेत्रीय स्थायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएका छन् ।
विश्वको कूल तेल आपूर्तिको झण्डै एक चौथाइ भाग ओहोरदोहोर गर्ने होर्मुज जलसन्धिमा पछिल्लो समय देखिएको तनावपछि चीनले यस क्षेत्रमा आफ्नो कूटनीतिक सक्रियता बढाएको छ। विश्लेषकहरू चीनको यो पहलले मध्यपूर्वमा शान्ति स्थापना र ऊर्जा सुरक्षामा उसको बढ्दो संलग्नताको सङ्केत गरेको बताउँछन्।





