७ बैशाख २०८३, सोमबार

‘घोडामा सवार मेयर’ हे जियाओलोङको खाता सय दिनपछि पुनः सक्रिय

९० को दशकमा जन्मिएका सिंघ्वा स्नातकले सम्हाले 'स्वादिलो सिन्च्याङ' को बागडोर

उरुम्की — सिन्च्याङको पर्यटन र कृषि उपजलाई विश्वभर चिनाउन अथक प्रयास गरेकी ‘घोडामा सवार मेयर’ का नामले परिचित हे जियाओलोङको व्यक्तिगत सामाजिक सञ्जाल खाता झन्डै सय दिनपछि पुनः अद्यावधिक भएको छ। उनको निधनपछि स्तब्ध बनेका ६५ लाखभन्दा बढी अनुयायीहरूका लागि यो अद्यावधिकले स्मरण र नयाँ यात्राको सन्देश ल्याएको छ।

सिन्च्याङ उइगुर स्वायत्त क्षेत्र कृषि उत्पादन ब्रान्ड निर्माण तथा उत्पादन-बिक्री सेवा केन्द्रले ‘स्वादिलो सिन्च्याङ’ सिफारिसकर्ता खाता स्थानान्तरणसम्बन्धी सूचना जारी गर्दै हे जियाओलोङको पुरानो खाता र नयाँ खाताको अवस्थाबारे स्पष्टीकरण दिएको छ।

सूचनामा भनिएको छ, “हरिया पहाडले सधैं सम्झिरहनेछ, आत्मा सदा रहिरहनेछ। हामी गहिरो सम्मान र सम्झनाका साथ हे जियाओलोङ कमरेडले ‘स्वादिलो सिन्च्याङ’ क्षेत्रीय सार्वजनिक ब्रान्डका लागि खन्याउनुभएको पसिना र योगदानको कदर गर्दछौं।” यसै सूचनामार्फत ‘स्वादिलो सिन्च्याङ’ को नयाँ सिफारिसकर्ता खाता (Douyin) आधिकारिक रूपमा सञ्चालनमा ल्याइएको र यसले हे जियाओलोङको अधुरो कामलाई निरन्तरता दिने जनाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नयाँ खाताको सञ्चालनको जिम्मेवारी सिंघ्वा विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी ‘९० को दशकपछि’ जन्मिएकी युवा कृषिविज्ञ काई यिरुईले पाएकी छन्। उनी सिन्च्याङ कृषि तथा ग्रामीण मामिला विभागकी कर्मचारी हुन्। नयाँ खाताको परिचयमा यो सिन्च्याङ कृषि तथा ग्रामीण मामिला विभागको आधिकारिक रूपमा तोकिएको, गैरनाफामूलक (शून्य कमिसन, विज्ञापनरहित) तथा राज्य स्वामित्वको कम्पनीद्वारा सञ्चालित हुने उल्लेख छ । काई यिरुईले आफ्नो पहिलो भिडियोमा भनेकी छन्, “आजदेखि म ‘स्वादिलो सिन्च्याङ’ सिफारिसकर्ता खातामार्फत तपाईंहरूलाई वास्तविक सिन्च्याङको मौलिक कृषि उपजसँग परिचित गराउनेछु। म सिन्च्याङका खेतबारी र पाटो-पखेरामा पुगेर गुणस्तर सुनिश्चित गर्दै हरिया, उत्तम र मौलिक सिन्च्याङका उत्पादनहरू तपाईंहरूसमक्ष ल्याउनेछु।”

यसैबीच, हे जियाओलोङको निधनपछि उनको खाताको भविष्यबारे धेरैले चासो व्यक्त गरेका थिए। सेवा केन्द्रले दिएको जानकारीअनुसार पुरानो खातालाई हे जियाओलोङप्रतिको सम्मानस्वरूप उनका आफन्तहरूको व्यवस्थापनमा स्मारकका रूपमा जोगाएर राखिनेछ । उक्त खाताको टिप्पणी खण्डमा धेरै नेटिजनहरूले हे जियाओलोङप्रति श्रद्धाञ्जली अर्पण गर्दै नयाँ सञ्चालकलाई शुभकामना दिएका छन्।

हे जियाओलोङको नाम सन् २०२० मा चर्चामा आएको थियो, जब उनी सिन्च्याङको इली कजाख स्वायत्त प्रान्तअन्तर्गत झाओसु जिल्लाको उपप्रमुख थिइन्। रातो लुगामा हिउँले ढाकिएको मैदानमा घोडा दौडाउँदै झाओसुको पर्यटन प्रवर्द्धन गरेको उनको भिडियो भाइरल भएपछि उनलाई मानिसहरूले ‘घोडामा सवार मेयर’ का रूपमा चिन्न थाले। उनको लोकप्रियतासँगै एउटै प्लेटफर्ममा उनका अनुयायीको सङ्ख्या ५० हजारबाट बढेर १४ लाख पुगेको थियो।

यसले स्थानीय अर्थतन्त्रमा पनि ठूलो योगदान दियो। उनले भनेकी थिइन्, “पहिले मैले एक दिनमा केही हजार युआनको सामान बेच्थें, पछि लाख-दुई लाखको बेच्न थालें। अहिले राम्रो तयारी गरेर एउटा लाइभ प्रसारण गर्दा २० लाख युआनभन्दा बढीको कारोबार गर्न सकिन्छ। यसले धेरैको रोजगारीको समस्या समाधान गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुर्याउँछ।”

उनले भन्ने गर्थिन्, “हामीले सिकेका अठार किसिमका कला र लिएको उच्च शिक्षा, आफ्नो गरिब गाउँबाट भाग्नका लागि होइन, बरु आफ्नो गाउँलाई गरिबीबाट मुक्त गराउनका लागि हो।”

२०२१ मा उनी इली प्रान्तीय सांस्कृतिक पर्यटन ब्यूरोमा सरुवा भइन् र २०२३ मा स्वायत्त क्षेत्रीय तहमा काम गर्न थालिन्। उनकै नेतृत्वमा ‘स्वादिलो सिन्च्याङ’ क्षेत्रीय सार्वजनिक ब्रान्ड स्थापना भएको थियो । दुर्भाग्यवश, सन् २०२६ को जनवरी ११ मा बोले सहरमा कृषि उत्पादनको विद्युतीय व्यापार प्रवर्द्धनको पूर्व तयारीका क्रममा भिडियो खिच्ने क्रममा उनी घोडाबाट लडिन् र टाउकोमा गम्भीर चोट लाग्यो। तीन दिनको निरन्तर उपचारपछि पनि उनलाई बचाउन सकिएन र १४ जनवरी २०२६ का दिन ४७ वर्षको उमेरमा उनको निधन भयो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button