आयोग सदस्य शर्माको बिचौलिया भट्टकै कम्पनीमा लगानी

काठमाडौं — गठनदेखि नै ‘बायस्ट’ (पक्षपातपूर्ण) रहेको आरोप खेपिरहेको गौरीबहादुर कार्की आयोगका सदस्य विज्ञानराज शर्माले बिचौलिया दीपक भट्ट तथा शंकर समूहको स्वामित्व रहेको गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयर लगानी गरेको तथ्य सार्वजनिक भएको छ।
प्राप्त विवरणअनुसार शर्माले उक्त कम्पनीमा १० हजार कित्ता संस्थापक सेयर लगानी गरेका छन्। गार्डियन माइक्रो इन्स्योरेन्स ‘सुदन सुरुङ’ का साझेदार समेत रहेको र सो कम्पनीमा बिचौलिया दीपक भट्ट तथा शंकर समूहको लगानी रहेको खुलेको छ।
यो खुलासासँगै उच्चस्तरीय छानबिन आयोगका सदस्य स्वयं अनुसन्धानको घेरामा रहेका व्यक्तिसँग व्यावसायिक रूपमा जोडिएको तथ्य बाहिर आएको छ। यसले आयोगको निष्पक्षता र विश्वसनीयतामाथि थप प्रश्न उठ्ने देखिन्छ।
यसअघि पनि गौरीबहादुर कार्की आयोगको गठन प्रक्रिया र यसका सदस्यहरूको पृष्ठभूमिलाई लिएर विभिन्न कोणबाट प्रश्न उठ्दै आएको थियो। आयोगका एक सदस्यको बिचौलियासँगको यो वित्तीय सम्बन्ध सार्वजनिक भएपछि आयोगले गरेकाे छानबिनको निष्पक्षतामा थप शंका उत्पन्न भएको छ।
यस विषयमा आयोगका सदस्य शर्मा वा आयोगका पदाधिकारीहरूको तत्काल कुनै प्रतिक्रिया आइसकेको छैन।





