७ बैशाख २०८३, सोमबार

गृहमन्त्री गुरुङको सम्पत्ति विवरण र सामाजिक सञ्जाल स्पष्टीकरणबीच बेमेल

ऋण विवरण खाली तर कपाली तमसुक देखाइयो

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरण र उनले सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणबीच तालमेल नमिलेको पाइएको छ। सम्पत्ति विवरणमा केही कम्पनीको शेयर लुकाएको खबर सार्वजनिक भएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै उक्त शेयर ऋण लिएर खरिद गरेको दाबी गरेका छन्। तर, प्रधानमन्त्री कार्यालयमा चैत २७ गते बुझाइएको सम्पत्ति विवरणको ऋणसम्बन्धी महल पूर्ण रूपमा खाली रहेको तथ्य बाहिरिएको छ।

गृहमन्त्री गुरुङले आज (सोमबार) सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्पष्टीकरणमा शेयर खरिदका लागि ऋण लिएको भन्दै कपाली तमसुकको फोटोसमेत पोस्ट गरेका छन्। तर, सोही तमसुकलाई प्रधानमन्त्री कार्यालयमा पेश गरिएको आधिकारिक सम्पत्ति विवरणमा समावेश नगरिएको देखिन्छ। सम्पत्ति विवरणको ऋण तथा धितोसम्बन्धी महलमा कुनै पनि विवरण उल्लेख गरिएको छैन।

प्राप्त जानकारीअनुसार गृहमन्त्री गुरुङले विवादास्पद व्यापारी तथा बिचौलिया दीपक भट्ट र उनका साझेदार शंकर ग्रुपका सुलभ अग्रवालहरूको उल्लेख्य लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्समा २५–२५ लाख रुपैयाँ लगानी गरेको विवरण सार्वजनिक भएको थियो। तर, उक्त लगानी सम्पत्ति विवरणमा छुट्टै उल्लेख नगरिएको आरोप लागेपछि गृहमन्त्री गुरुङले आफ्नो स्पष्टीकरणमा उक्त रकम सम्पत्ति विवरणमा एकमुष्ट उल्लेख गरिएको ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ अन्तर्गतको २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँमा समेटिएको दाबी गरेका छन्।

यसबाहेक, सम्पत्ति विवरणमा शेयरको किसिम ‘साधारण’ उल्लेख गरिएको छ भने स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भने गृहमन्त्री गुरुङको हैसियत संस्थापक शेयरहोल्डरका रूपमा रहेको खुलेको छ। यी दुवै कम्पनीको धितोपत्र बजारमा कारोबार शुरु नै नभएको अवस्थामा तिनको शेयरलाई ‘धितोपत्र बजारमा कारोबार हुने शेयर’ भनी प्रस्तुत गरिएको विषयले पनि प्रश्न उठेको छ।

गृहमन्त्री गुरुङले आफूले लगानी गरेका कम्पनीहरूमध्ये होप होल्डिङ्स र लगुम प्रिमियम अपार्टमेन्ट्सको नाम सार्वजनिक गरे पनि अन्य कम्पनीहरूको विवरण भने खुलाउन चाहेनन्। यसबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सबै शेयर एउटै प्रकृतिका नहुने र आफूले धितोपत्र बजारमा कारोबार हुने शेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु।”

करोडौंको सम्पत्तिको कारोबार गरेका गृहमन्त्री गुरुङले हालसम्म कर चुक्ता प्रमाणपत्रसमेत नलिएको पाइएको छ। उनको स्थायी लेखा नम्बर (प्यान) ६०१४६७१४७ रहेको र सो नम्बर २०७० असोज १३ गते दर्ता भएको देखिन्छ। तर, दर्ता भएको मितिदेखि हालसम्म उनको तर्फबाट कुनै पनि कर रकम दाखिला नभएको विवरणले पनि प्रश्न उब्जाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button