२८ असार २०८३, आईतवार

प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

काठमाडौं — सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई ज्यान मार्ने धम्की दिने एक युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बझाङ जिल्ला थलरा गाउँपालिका वडा नं. ४ घर भएका २० वर्षीय साजन विष्ट (उपनाम सानु भाइ) लाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार विष्टले ‘सानु भाइ’ नामक फेसबुक अकाउन्टबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न माग गर्दै पोस्ट गरेका थिए। सोही पोस्टमा उनले माग पूरा नभए वर्तमान प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्ने धम्की दिएका थिए।

प्रहरीका अनुसार विष्टले काठमाडौंमा एके–४७ जस्ता अत्याधुनिक हतियार भित्रिसकेको र आफ्नो टोलीले जस्तोसुकै कदम चाल्न सक्ने भन्दै जनमानसमा त्रास फैलाउने गरी धम्कीपूर्ण भिडियोहरू समेत सार्वजनिक गरेका थिए।

अनुसन्धानका क्रममा विष्ट विगतमा भारतको बैंगलोरस्थित एमजी रोडको एक फेन्सी स्टोरमा काम गर्दै बसोबास गरेको खुलेको छ। उनी भारतमा रहँदा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ। पछिल्लो समय उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै नेपाल सरकारका उच्च पदाधिकारीहरूलाई लक्षित गरी ज्यान मार्ने धम्की दिँदै आएका थिए।

काठमाडौंको सिनामंगलबाट वैशाख ५ गते पक्राउ परेका विष्टलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीका लागि साइबर ब्युरो, भोटाहिटी पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सोमबार जानकारी दिए।

फाेटाे साभार सामाजिक सञ्जालबाट

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button