अमेरिकाबाट डिपोर्ट हुने ७० प्रतिशत नेपाली आठ जिल्लाका
मानव तस्करले एकै भेगका जिल्लालाई लक्षित गरेको खुलासा

काठमाडौं — अमेरिकाले डिपोर्ट (देशनिकाला) गरी पठाएका अधिकांश नेपालीहरू मानव तस्करको प्रलोभनमा परी अमेरिका पुगेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकअनुसार सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्म (नौ महिना) को अवधिमा अमेरिकाले ३९६ जना नेपालीलाई डिपोर्ट गरेको थियो, जसमा ३६८ पुरुष र २८ महिला थिए। सो अवधिमा डिपोर्ट हुनेमध्ये ७० प्रतिशत अर्थात् २७८ जना एकापसमा जोडिएका आठ जिल्लाका रहेका छन्। यसले मानव तस्करले खास भेगलाई लक्षित गरेको देखाउँछ।
तथ्यांकअनुसार मानव तस्करको प्रलोभनमा परी अमेरिका पुगेर डिपोर्ट हुनेमा सबैभन्दा बढी दाङ, रुकुम पश्चिम, रुकुम पूर्व, पर्वत, सिन्धुपाल्चोक, म्याग्दी, बागलुङ, काठमाडौं, रोल्पा र सल्यानका नागरिक छन्। यीमध्ये पनि दाङका १०४ जना (२६.३ प्रतिशत) रहेका छन् भने रुकुम पश्चिमका ६७ जना (१६.९ प्रतिशत) र रुकुम पूर्वका ३६ जना (९.१ प्रतिशत) डिपोर्ट भएका छन्।
सोही अवधिमा पर्वतका २१, सिन्धुपाल्चोकका १६, म्याग्दीका १५, बागलुङका १४, काठमाडौंका १४, रोल्पाका ११, सल्यानका १० र अन्य जिल्लाका ८८ जना डिपोर्ट भएको ब्युरोको तथ्यांकले देखाउँछ।
एकले अर्कोलाई तान्ने शृङ्खलाको परिणाम
कुनै खास क्षेत्रका एकापसमा जोडिएका जिल्लाबाट मात्र ठूलो संख्यामा अवैध तरिकाले अमेरिका पुग्नुको कारणबारे नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले भने, “एउटा व्यक्ति यसरी अमेरिका पुगेपछि, उसले आफूवरपरकालाई तान्दो रहेछ। अवैध तरिकाले जाने पाँचमध्ये एकजना मात्र प्रवेश गर्न सफल भएमा उसको पछि लाग्ने बढी हुने रहेछन्। एकले अर्कोलाई तान्दा यस्तो देखिएको हो।”
एसएसपी पंगेनीका अनुसार गाउँमै कसैले डेरी खोल्नका लागि ऋण माग्दा एक रुपैयाँ नदिनेहरू अमेरिका जानका लागि भने करोड रुपैयाँसम्म दिन तयार हुने गरेका छन्। “एउटै क्षेत्रका व्यक्ति डिपोर्ट हुने बढी देखिनुमा अर्को कारण भनेको उनीहरूलाई पठाउने एजेन्ट पनि त्यही क्षेत्रको भएका कारण हो,” उनले भने।
ट्रम्प प्रशासनको कडाइ र बढ्दो डिपोर्टको क्रम
डोनाल्ड ट्रम्प सन् २०२५ जनवरी २० मा दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि अवैध आप्रवासीमाथि कडाइ गरिएको छ। त्यसपछि अवैध तरिकाले जाने क्रम रोकिएको छ भने पहिल्यै पुगेकाहरू डिपोर्टमा पर्दै गएका छन्।
अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्ला वर्षमा अमेरिकाबाट डिपोर्ट हुनेको संख्या प्रत्येक वर्ष बढ्दो छ। सन् २०२५ मा मात्र अमेरिकाले ५८३ नेपालीलाई डिपोर्ट गरेको थियो। सन् २०२२ मा ६, सन् २०२३ मा १९ र सन् २०२४ मा १३९ जना नेपालीलाई डिपोर्ट गरिएको थियो। पछिल्लो चार वर्षमा मात्र ७४७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ।
ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए। निर्वाचित भएपछि शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। त्यसपछि ट्रम्प प्रशासनले निष्कासन गर्नुपर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो।
द्वन्द्व प्रभावित क्षेत्रका बासिन्दा बढी प्रभावित
राष्ट्रिय मानव अधिकार आयोगले केही दिनअघि सार्वजनिक गरेको ‘मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८२’ मा पनि यो विषय समेटिएको छ। प्रतिवेदनमा भनिएको छ, “यीमध्ये पनि ५२ प्रतिशत देशनिकाला भएका व्यक्तिहरू सुरुका तीन जिल्ला अर्थात् दाङ, रुकुम पश्चिम र रुकुम पूर्वका छन्। यी तीन जिल्लाका साथै पश्चिमी नेपालका रोल्पा र सल्यान जिल्लाहरू माओवादी सशस्त्र द्वन्द्व (सन् १९९६–२००५) बाट नराम्ररी प्रभावित भएका क्षेत्र हुन्।”
जोखिमपूर्ण र घुमाउरो बाटो
मानव तस्करले अवैध बाटोबाट नेपालीलाई अमेरिका पुर्याउने गर्छन्। यो मार्ग सीधा, छोटो वा सुरक्षित नभई अत्यन्त घुमाउरो, लामो र खतरनाक छ। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार यो मार्गमा पर्ने प्रत्येक देश पार गरी अर्को देशमा प्रवेश गर्न हप्तौं समय व्यतीत गर्नुपर्ने हुन्छ। एक देशबाट अर्को देशमा जान बस, ट्रकदेखि विमान र डुंगासम्मका साधन प्रयोग गरिन्छ। यात्रीहरूले कोलम्बिया र पानामाको बीचमा पर्ने घना जंगल (डेरियन ग्याप) मा कतिपय अवस्थामा दशौं किलोमिटर पैदल यात्रासमेत गर्नुपर्ने हुन्छ।
प्रतिवेदनका अनुसार मानव तस्करले नेपालीलाई सुरुमा काठमाडौंबाट युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई वा भारतको नयाँ दिल्ली लैजाने गर्छन्। दुबईबाट कसैलाई सीधै दक्षिण अमेरिकी राष्ट्र ब्राजिल वा बोलिभिया पुर्याउने गर्छन्। नयाँ दिल्लीबाट भने कसैलाई दुबई वा रुस हुँदै स्पेनबाट ब्राजिल वा बोलिभिया पुर्याउने गरिन्छ। ब्राजिल वा बोलिभिया पुग्नेबित्तिकै पासपोर्ट च्यात्न लगाइन्छ। त्यसपछि ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर हुँदै कोलम्बियासम्म बसमा यात्रा गराइन्छ। कोलम्बियादेखि पानामासम्म घना जंगलको बाटो हिँडेर छिचोल्नुपर्छ। त्यसपछि कोस्टारिकादेखि निकारागुवा बसमा यात्रा गराइन्छ। निकारागुवाबाट होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको बस, ट्रक र पैदल यात्रा गर्नुपर्छ। अन्ततः मेक्सिकोबाट अमेरिका हिँडेर जानुपर्ने हुन्छ।
ट्रम्प प्रशासनले कडाइ गरेपछि सन् २०२५ जनवरी यता यो मार्गबाट तस्करले नेपालीलाई अमेरिका लैजान छाडेका छन्। तर, अमेरिकाले त्यसअघि पुगेकालाई पनि निरन्तर डिपोर्ट गर्दै आएको छ। पछिल्लो पटक ०८२ फागुन १६ गते अमेरिकाले डिपोर्ट गरेका ९५ नेपाली काठमाडौं आइपुगेका थिए। यसअघि २०८२ माघ ५ गते ९१ जना र गत पुस ३ गते ७५ जना एकैदिन डिपोर्ट भएर नेपाल फर्किएका थिए।
काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएकाहरू काठमाडौं आउनु केही दिनअघि अध्यागमन विभागलाई जानकारी दिने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीसमक्ष बुझाउने गरिन्छ। प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने भएकाले उनीहरूलाई पठाउने मानव तस्करबारे सूचना लिन प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ।





