सहायक विदेशमन्त्री कपुरद्वारा पाटन दरबार स्क्वायर भ्रमण

काठमाडौं — नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले सोमबार पाटन दरबार स्क्वायरको भ्रमण गरेका छन्। उनी अमेरिकी दूतावासका प्रवक्तासहित अपराह्न सवा ३ बजेको समयमा त्यहाँ पुगेका थिए। पाटन भ्रमणपछि उनी बत्तीसपुतलीस्थित होटल द्वारिकाज फर्किएको बताइएको छ।
यसअघि, सहायक विदेशमन्त्री कपुर टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२६ मार्फत इस्तानबुल हुँदै सोमबार बिहान सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए। विमानस्थलबाट उनी सीधै आफ्नो होटलतर्फ लागेका थिए। बिहान १० बजेको समयमा उनी महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका थिए। दूतावासमा करिब एक घण्टा बिताएपछि उनी बूढानीलकण्ठ नजिकै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवास पुगेर भेटवार्ता गरेका थिए।
भेटमा सहायक विदेशमन्त्री कपुरले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका थिए। भेटका क्रममा नयाँ सरकारमा रास्वपाका प्राथमिकताहरू र नेपाल–अमेरिकाबीचको द्विपक्षीय सहकार्यका क्षेत्रहरूबारे छलफल भएको जनाइएको छ।
यसैबीच, सहायक विदेशमन्त्री कपुरले सोमबार नै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उनको भ्रमण कार्यतालिकाअनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ। तर, भेटघाट र भ्रमणको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। सहायक विदेशमन्त्री कपुर पर्सि बिहान सोही टर्किस एअरलाइन्सको उडानमार्फत इस्तानबुल हुँदै स्वदेश फर्कने कार्यतालिका रहेको बताइएको छ।





