अमेरिकी सहायक विदेशमन्त्री कपुरद्वारा दक्षिण एसियामा चिनियाँ प्रभावप्रति चिन्ता व्यक्त, ‘ऋण–जाल कूटनीति’ बाट जोगाउनुपर्ने धारणा

काठमाडौं — नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरले यसअघि अमेरिकी संसद्को हाउस फरेन अफेयर्स कमिटीअन्तर्गत दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसमितिको बैठकमा दक्षिण एसियामा चीनको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गरेका थिए। गत फेब्रुअरीमा भएको सो बैठकमा उनले नेपाल, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का र भुटानमाथि चिनियाँ दबाब रहेको धारणा राखेका थिए।
बैठकमा कपुरले बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) मार्फत चीनले आफ्नो सुरक्षा स्वार्थ अगाडि बढाएको र साना राष्ट्रहरूलाई ऋणको जालमा फसाउने काम गरेको टिप्पणी गरेको भारतीय समाचार एजेन्सी आईएएनएसले जनाएको छ। उनले दक्षिण एसियामा चीन वा अरू कुनै पनि एकल शक्तिको प्रभुत्व रोक्नु अमेरिकाको मुख्य उद्देश्य रहेको बताउँदै त्यसलाई रोक्नु अमेरिकाको कर्तव्य रहेको धारणा राखेका थिए।
भारत र चीनजस्ता दुई विशाल देशको बीचमा रहेको नेपाल संवेदनशील भूराजनीतिक अवस्थामा रहेको उल्लेख गर्दै कपुरले नेपाललाई ‘ऋण–जालको कूटनीति’ बाट जोगाउनुपर्नेमा जोड दिएका थिए। उनले भनेका थिए, “उनीहरूलाई ऋण–जालको कूटनीतिबाट जोगाउनुपर्छ।” साथै, यस क्षेत्रमा अमेरिकाले आफ्नो सम्बन्ध विस्तार गर्नुका साथै व्यापारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा पनि उनले बैठकमा राखेका थिए।
यसैबीच, नेपाल भ्रमणको क्रममा सहायक विदेशमन्त्री कपुरले सोमबार बिहान काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यवाहक राजदूत स्कट उर्बोमलगायत दूतावासका अधिकारीहरूसँग छलफल गरेका छन्। उनले आजै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उपसमितिको बैठक लगत्तै कपुरले बङ्गलादेशको भ्रमण गरेका थिए भने जेन–जी आन्दोलनपश्चात् नेपालमा नयाँ सरकार गठन भएपछि उनी नेपाल भ्रमणमा आएका हुन्। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उनी पहिलो उच्चस्तरीय अमेरिकी अधिकारी हुन्। उनी तीन दिने भ्रमणपश्चात् पर्सि बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ।





